काठमाडौं- एम्नेस्टी इन्टरनेसनलकी अनुसन्धान, वकालत, नीति तथा अभियान विभागकी वरिष्ठ निर्देशक एरिका गुएभारा रोसासले इजरायलमा हुन गइरहेको आगामी चुनावले प्यालेस्टाइनीहरूमाथि भइरहेका निरन्तरका उल्लंघनहरूबाट ध्यान हटाउन नहुने चेतावनी दिएकी छन्।
गुएभारा रोसासले एक्समा लेखेकी छन्, ‘इजरायल चुनावतर्फ अघि बढ्दै गर्दा विश्वले यसबाट आफ्नो आँखा फेर्नु हुँदैन ।’
उनले थपिन्, ‘चुनावले प्यालेस्टाइनीहरूले भोगिरहेको वास्तविक स्थिति, गाजामा भइरहेको नरसंहार, रंगभेद, गैरकानुनी कब्जा, जबरजस्ती विस्थापन, र वेस्ट बैंकमा बढ्दै गएको हिंसा तथा जातीय सफायालाई मेटाउन सक्दैन ।’
इजरायली नियन्त्रणमा बसोबास गरिरहेका लाखौं प्यालेस्टाइनीहरूलाई उनीहरूको जीवनमा गहिरो प्रभाव पार्ने निर्णयहरूमा भोट हाल्ने अधिकार नभएको उनको भनाइ छ ।
उनले देशमा आउने राजनीतिक परिवर्तनका बाबजुद विश्वका नेताहरूलाई अन्तर्राष्ट्रिय कानुनमा ध्यान केन्द्रित राखिरहन आग्रह गरिन् ।
‘राजनीतिक हेरफेर वा सत्ता परिवर्तन जवाफदेहिताबाट उम्किने बहाना बन्नु हुँदैन’, गुएभारा रोसासले भनिन्, ‘राज्यहरूले अन्तर्राष्ट्रिय कानुनको पालना गराउन, निरन्तर भइरहेका उल्लंघनहरू रोक्न र पीडितहरूका लागि न्याय सुनिश्चित गर्न आउने नयाँ इजरायली सरकारमाथि दबाब बढाउनुपर्छ। अन्तर्राष्ट्रिय समुदायले अहिल्यै कदम चाल्न सक्छ र चाल्नुपर्छ ।’






















