काठमाडौं- चीनको दक्षिण-पश्चिममा रहेको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको नागचु शहरस्थित ड्रान्चेन काउन्टीमा बिहीबार राति ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
चिनियाँ सञ्चारमाध्यम चाइना डेलीका अनुसार नागचु शहरको आपतकालीन व्यवस्थापन ब्युरोका अनुसार बेइजिङ समय अनुसार बिहीबार राति १०:३३ बजे उक्त भूकम्प गएको हो ।
शुक्रबार बिहान २:२५ बजेसम्मको अध्यावधिक विवरण अनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जना सामान्य घाइते भएका छन् । भूकम्पका कारण ३०० भन्दा बढी घरहरू भत्किएका छन् ।
भूकम्पबाट भएको क्षतिको थप मूल्याङ्कन भइरहेको छ र विपद् राहत कार्यलाई तीव्र रूपमा अगाडि बढाइएको छ ।
उद्धार कार्यका लागि भूकम्पको केन्द्रविन्दुमा ३०० भन्दा बढी प्रहरी अधिकारीहरू खटाइएको साथै क्षेत्रीय अग्नि नियन्त्रण तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा ३४७ जना जनशक्ति परिचालन गरेको चाइना डेलीमा उल्लेख छ ।





















