images
images
  • खुला सीमानाले पर्सामा मोटरसाइकल चोरेर भारततर्फ विक्री, दुई जना पक्राउ

    पर्सा-  जिल्लामा पछिलो समय मोटरसाइकल चोरीको घटनामा वृद्धि भएको छ । प्लसर लगायतका १५० सीसीदेखि माथिका मोटरसाइकल सबैभन्दा बढी चोरी हुने गरेका छन् ।

    खुल्ला सीमानाका कारण चोरिएका मोटरसाइकल भारततर्फ लैजान, सीमा कटाउन सहज भएकाले पछिलो समय चोरीका घटना बढेका हुन् । प्लसर, बजाज, एमाहालगायतका कम्पनीको १ सय ५० सीसीभन्दा माथिको नयाँ मोटरसाइकल चोरहरुको पहिलो रोजाइमा हुने गरेको छ ।

    सीसीटिभी भएको सदरमुकाम वीरगन्जको मुख्य सडक तथा चोकमा चोरीका घटना कम भए पनि नगरको भित्री क्षेत्र र ग्रामिण भेगमा भने चोरी हुने क्रम रोकिएको छैन ।

    जिल्लामा मोटरसाइकल चोरीका घटना बढिरहेका बेला प्रहरीले चोरीमा संलग्न भएको अभियोगमा दुई जना युवकलाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट चोरी गरिएको चार थान मोटरसाइकलसहित पक्राउ परेका वीरगन्ज महानगरपालिका ३० प्रसोतिपुरका २० वर्षीय आकाश पटेल र २१ वर्षीय कृष्ण पटेललाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो ।

    जिल्लाको विभिन्न स्थान तथा विभिन्न समयमा चोरीका मोटरसाइकल विक्रीका लागि आकाशले आफ्नै घर परिसरमा लुकाइछिपाई राखेको पूर्व सूचनाको आधारमा छापा मार्दा बा ४१ प ५२६३, ना १६ प ३३६७, ना १४ प ८४ र गा १ प ७६९४ नम्बरको ४ थान मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

    पक्राउ परेका दुबै युवकमाथि थप अनुसन्धान भइरहेको छ । आकाशको वयानका आधारमा प्रहरीले मोटरसाइकल चोरी तथा विक्रीमा संलग्न भएको भन्दै कृष्णलाई पनि नियन्त्रणमा लिएको हो । दुबैमाथि प्रहहरीले चोरी मुद्दा चलाउने तयारी गरेको छ ।

    तथ्यांकमा बढ्यो चोरी

    आर्थिक वर्ष २०७५र०७६ को तुलनामा आर्थिक वर्ष २०७७र०७८मा २ सय ४३ प्रतिशतले चोरीका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५र०७६मा ३७ वटा, २०७६र०७७मा ६९ र २०७७र०७८मा ९० वटा मुद्दा दर्ता भएको छ । खुल्ला सीमानाका कारण नेपाली भूभागबाट चोरी गरिएको मोटरसाइकल भारततर्फ लैजान सहज भएकाले घटनामा वृद्धि हुँदै गएको प्रहरीको निष्कर्ष छ ।

    नेपालमा चोरीको मोटरसाइकल भारतमा सहजै ३० देखि ४५ हजार सम्ममा विक्री हुने गरेकाले पछिलो समय चोरीमा युवाहरुको सहभागिता बढेको र चोरीमा संलग्न भएर समातिएकाको उमेर औसत २० देखि ३५ वर्ष समूह रहेको प्रहरीको अध्ययनले देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images