images
images
  • विश्व हात्ती दिवस: वन र वयन्जन्तुको संरक्षण गर्दैछ हात्ती

    चितवन- पर्यटकलाई वनजङ्गल घुमाउने हात्ती आफैले वन र वन्यजन्तुको संरक्षणमा भूमिका खेल्दै आएको छ । जङ्गलको जनावर भएर पनि वनपाखा, खोला जङ्घारमा सहज पुग्नसक्ने क्षमताका कारण संरक्षणमा यसको प्रयोग हुँदै आएको हो । त्यसो त यसलाई राणाहरुले सिकार खेल्नसमेत प्रयोग गरे । नेपालका तराई क्षेत्रका निकुञ्ज र संरक्षित क्षेत्रको संरक्षणमा यसको प्रयोग हुँदै आएको छ । राजा, राणा र साहुमाहाजनले तत्कालीन समयमा शोख र सिकारका लागि प्रयोग गर्ने हात्ती पछिल्ला वर्षमा वन र वन्यजन्तु संरक्षणमा उपयोग गरिँदै आएको छ ।

    नेपालका तराईमा रहेका ६ वटा राष्ट्रिय निकुञ्ज र आरक्ष संरक्षणमा हात्तीको प्रयोग गरिँदै आएको छ । देशकै पहिलो चितवन राष्ट्रिय निकुञ्ज स्थापनाको तयारीकै बेलादेखि निरन्तर २७ वर्ष काम गर्नुभएका रामप्रित यादव हात्तीको महत्वको बारेमा चर्चा गरेरै नसकिने बताउछन्। यो निकुञ्ज विसं २०३० मा विधिवत् रुपमा स्थापना भएको हो ।

    यसै निकुञ्जमा तीन पटकसम्म प्रमुखको भूमिकामा रहेका यादव संरक्षणमा मात्रै नभएर हात्तीको ऐतिहासिक र धार्मिक महत्वसमेत रहेको बताउछन् । पर्साको चारकोशे झाडीमा जङ्गबहादुर राणाले हात्ती समाउने गरेको चर्चा गर्दै उनले भने, “रामायण र महाभारत जस्ता ग्रन्थहरुमा युद्ध गर्न हात्तीको प्रयोग गरिएको चर्चा पाइन्छ ।” हिन्दू धर्ममा महत्वपूर्ण मानिएको हात्ती सिकार हुँदै अहिले संरक्षणमा लगाइँदै आएको छ ।

    यादवको भनाइमा चोरीसिकार नियन्त्रण, गस्तीदेखि सडक नपुगेका निकुञ्जका भित्री भागमा कर्मचारी र रासनपानी ओसार्न हात्तीको प्रयोग गरिन्छ । पहिले पहिले भारतको आसाम क्षेत्रमा हात्ती समाउन पाउने भए पनि पछिल्ला वर्षमा भारत सरकारले रोकेसँगै नेपालमा हात्ती किन्नुपर्दा महँगो भएको यादव बताउछन् ।

    यादवले भने “हाम्रो बेलामा पाँच ६ हजारमा हात्ती पाइन्थ्यो, अहिले ८० लाखभन्दा बढी पर्छ रे ।” निकुञ्जमा ५६ वटा सुरक्षा पोष्ट रहेका छन् । तीमध्ये १६ वटामा हात्ती रहेका छन् । प्रमुख संरक्षण अधिकृत अणनाथ बराल निकुञ्ज सुरक्षामा हात्तीको भूमिका महत्वपूर्ण रहेको बताउछन् । वर्षातको समयमा निकुञ्जका भित्री भागमा रहेका पोष्टलगायतका क्षेत्रमा गस्तीको माध्यम हात्ती मात्रै हुने गर्दछ । अहिले निकुञ्जमा भएका पोष्टमध्ये २० वटा बाहेक अन्यत्र कर्मचारी ओहोरदोहोर, रासनपानी ओसारपसार लगायतकाकार्य हात्तीले गर्दै आएका छन् ।

    वर्षा होस् वा हिउँद वन्यजन्तु घाइते हुँदा होस् वा नियन्त्रण गर्नुपर्दा हात्तीकै साहारा लिनुपर्ने बरालको भनाइ छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार यस निकुञ्जमा २३ पोथीसहित ५६ हात्ती छन् । तीमध्ये नौ वटा बच्चा बाहेक अधिकांश संरक्षणमा जुट्ने गर्दछन् । यस निकुञ्जको मध्यवर्ती क्षेत्रमा ६८ वटा निजी हात्ती पर्यटक घुमाउन प्रयोग हुँदै आएका छन् । हात्ती बिनाको संरक्षण कल्पना गर्न नसकिने अधिकारीको भनाइ छ ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य नेपालका तराईका सबै निकुञ्ज सुरक्षामा हात्तीको प्रयोग हुँदै आएको बताउछन् । निजीसहित २०० हाराहारी हात्ती नेपालमा रहेका छन् । सबैभन्दा बढी चितवनमा रहेका छन् भने त्यसपछि बर्दियामा १५ वटा छन् । कोशीटप्प वन्यजन्तु आरक्ष, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १०÷१० वटा हात्ती रहेका छन् ।

    सरकारी हात्तीमध्ये ११५ हाराहारी सुरक्षामा सुरक्षामा परिचालन गर्ने गरिएको छ । सौराहा नजिकै हात्ती प्रजनन केन्द्र रहेको छ । सोही केन्द्रमा हात्तीका बच्चा हुर्काउने र तालिम दिने गरिँदै आइएको छ । निकुञ्ज स्थापना हुनुअघि पनि वन क्षेत्रमा गस्तीका लागि हात्ती नै प्रयोग गर्ने गरेको आचार्य बताउछन् । हात्ती गस्ती, पेट्रोलिङ, वन्यजन्तु अनुगमन, उद्धार, अनुसन्धानसँगै पर्यटनमा हात्तीको प्रयोग हुने गरेको उनको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जले गैँडा र बर्दियाले बाघ संरक्षणका लागि जोड दिँदै आएको छ भने पर्सा राष्ट्रिय निकुञ्जले हात्ती संरक्षणमा काम गर्दै आएको छ ।

    वन्यजन्तुमा हात्ती सबैभन्दा ठूलो र बुद्धिमान जनावर हो । यो जनावर आफू सुरक्षित हुँदै अरुको सुरक्षा गर्न खटिँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images