काठमाडौं- संयुक्त राष्ट्र संघको शान्ति मिसन छनौट प्रारम्भिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको घटनामा परीक्षा समितिकै सदस्यको संलग्नता भेटिएको छ ।
प्रश्नपत्र तयार गर्ने र परीक्षाका पूर्वतयारीका लागि प्रहरी प्रधान कार्यालयको यूएन शाखाले बनाएको परीक्षा समितिका सदस्य प्रहरी नायब निरीक्षक (सई) जनकबहादुर थापा आफैं प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न रहेको भेटिएको हो ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामा नेतृत्वको ७ सदस्यीय छानविन समितिले बुझाएको प्रतिवेदनमा थापाले सई केशव कार्की र प्रहरी सहायक निरीक्षक ९असई० अशोक कार्कीलाई परीक्षा अगावै प्रश्नपत्र दिएको उल्लेख छ । केशव प्रहरी वृत्त, ठिमी र अशोक नेपाल प्रहरी विद्यालय, साँगामा कार्यरत थिए ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर भन्छन्, ‘प्रत्यक्ष संलग्नता देखिएपछि थापालाई बर्खास्त गर्न समितिले सिफारिस गरेको छ ।’ समितिले प्रश्नपत्र बाहिरिएको प्रकरणको मुख्य दोषी प्रहरी हवल्दार कुमार शाह र प्रहरी परिचर सुरेश बमलाई मानेको छ ।
उनीहरुलाई छानविन सुरु भएलगत्तै पक्राउ गरेर नक्सालस्थित १ नम्बर सशस्त्र प्रहरी गणमा राखिएको थियो । समितिले उनीहरु दुवै जनालाई पनि बर्खास्त गर्न सिफारिस गरेको छ ।
प्रश्नपत्र चोरिँदैछ भन्ने थाहा थियो थापालाई
स्रोतका अनुसार परीक्षा समितिका सदस्य थापाको हवल्दार शाहसँग प्रश्नपत्र चोरी हुनु अघिबाटै पटक–पटक कुराकानी हुने गरेको थियो । पहिले यूएन शाखामै काम गरेका शाहलाई थापाले ‘आफ्नो पनि मान्छे जाँच दिँदैछन्, प्रश्न पत्र हात परे दिनू’ भनेका थिए ।
समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख भएअनुसार परीक्षा हुनु तीन दिन अघि नै प्रश्न पत्र चोरी भएको थियो । यूएन शाखाले १५ र १६ साउनमा प्रि–स्याट परीक्षा तोकेको थियो, १२ गते नै प्रश्नपत्र चोरी भएको भेटिएको छ ।प्रि–स्याटको प्रश्नपत्र शाखाका प्रमुख एसपी अनुपमशमशेर राणाले आफ्नो दराजमा राखेका थिए । उनी घर गएका बेला प्रहरी परिचर बमले अर्को चाबीले प्रश्नपत्र निकालेर फोटो खिचेका थिए । र, त्यसलाई हवल्दार शाहको भाइबरमा पठाएका थिए ।
स्रोतका अनुसार हवल्दार शाहले १३ गते परीक्षा समितिका सदस्य थापालाई प्रश्नपत्र दिएका छन् । त्यसपछि उनले फोटोकपी गरेर कार्कीद्वयलाई प्रश्नपत्र दिएका थिए । यसरी उनीहरुमार्फत ११९ जना परीक्षार्थीसम्म प्रश्नपत्र पुगेको हुनसक्ने प्रतिवेदनमा उल्लेख छ ।प्रि–स्याट परीक्षामा उत्तीर्ण हुनेलाई मात्र शान्ति मिसनको अन्तिम परीक्षामा सहभागी गराउने गरिन्छ । प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सम्म सहभागी हुन पाउने परीक्षामा यसपटक २ हजार बढी परिक्षार्थी थिए ।
११ जनालाई विभागीय कारबाही
छानविन समितिका संयोजक डीआईजी लामाले बुधबार प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएका छन् । प्रतिवेदनमा ११ जनालाई विभागीय कारबाही गर्नुपर्ने भनिएको छ ।समितिले ‘पहिरो लेयर’मा संलग्नलाई मात्र कारबाहीको सिफारिस गरिएको जनाएको छ । ‘अर्को परीक्षा चाँडै गर्नुपर्ने भएकाले समय पनि थोरै थियो’ समितिका एक सदस्य भन्छन्, ‘फेरि दोस्रो र तेस्रो लेयरसम्म जानु त्यति धेरै औचित्यपूर्ण पनि थिएन ।’
प्रतिवेदनमा परीक्षा समितिका अन्य सदस्यहरुलाई पनि विभागीय कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ । यूएन शाखाका दुई एसपी अनुपम शमशेर जबरा र वेद विष्टलाई कारबाही गर्न भनिएको छ । उनीहरुलाई स्पष्टिकरण सोध्ने प्रक्रिया थालिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार स्वार्थपूर्ण तरिकाले प्रश्नपत्र हात पार्न खोजेको र प्रश्नपत्र चोर्न उक्साएको अभियोगमा प्रहरी नायब उपरीक्षक ९डीएसपी० रुपेश खड्का र सुगन्ध श्रेष्ठलाई पनि कारबाही गर्न सिफारिस गरिएको छ ।
स्रोतका अनुसार प्रहरी निरीक्षक दिलीप क्षेत्री, प्रहरी नायब निरीक्षक केदार तिमल्सिना, प्रहरी नायब निरीक्षक सुनिलकुमार भणडारी, केशव कार्की, प्रहरी सहायक निरीक्षक अशोक कार्की र प्रहरी जवान सुनिता नेपाललाई पनि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।
को-को परे कारबाहीमा ?
भाइबर, म्यासेन्जर, ह्वाट्सएप लगायत विभिन्न सामाजिक सञ्जाल र व्यक्तिलाई भेटेर प्रश्नपत्रसमते दिइएको गरी १ सय १९ जनासँग प्रश्नपत्र पुगेको निष्कर्ष निकालेको समितिले ३५ जनासँग बयान लिएको थियो। १ सय १९ मध्ये ३५ जना पहिलो सिनमा देखिएको भन्दै समितिले उनीहरुसँग बयान लिएको थियो।
जस क्रममा ३५ जना मध्ये २४ जनालाई भने सामान्य सचेत मात्रै गराइएको छ। उनीहरुलाई यस्ता घटना हुँदा बेलैमा जानकारी गराउनु पर्नेमा नगराएकाले सचेतसम्म गराइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। ३५ जना मध्ये बाँकी ११ जनालाई भने विभागीय कारबाहीदेखि बर्खास्तसम्मका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले नेपाल जानकारी दियो।


विश्व खबर 


















