काठमाडौं- साउदी अरेबियाले यमनका हुथी विद्रोहीमाथि मदिनास्थित तैयबा विद्युत् वितरण केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ।
साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता टर्की अल–मलिकीका अनुसार सेप्टेम्बर २९ मा भएको आक्रमणबाट विद्युत् केन्द्रको एउटा ट्रान्सफर्मरमा क्षति पुगेको थियो। उक्त केन्द्रले मस्जिद–ए–नबवीमा विद्युत् आपूर्ति गर्ने भए पनि मस्जिदको विद्युत् सेवामा असर नपरेको साउदी अधिकारीहरूले बताएका छन्।
साउदीले ड्रोनका भग्नावशेष र अनुसन्धानबाट हुथीहरूको संलग्नता पुष्टि भएको दाबी गरेको छ। हुथीहरूले भने पवित्र स्थललाई निसाना बनाएको आरोप अस्वीकार गर्दै आएका छन्।
पाकिस्तान, टर्की र कतारले घटनाको निन्दा गर्दै साउदीको सार्वभौमिकता, पवित्र स्थल र तीर्थयात्रीको सुरक्षाको सम्मान गर्नुपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















