images
images
  • राष्ट्रियसभा बैठक : सांसदद्वारा भ्रष्टाचार, हिंसा, महामारी र विपद्का घटना रोक्न माग

    काठमाडौ- सांसदहरुले मुलुकमा देखिएको भ्रष्टाचार, अनियमितता, कोभिड–१९ को महामारी, मनसुनजन्य विपद्जस्ता घटना न्यूनीकरणमा गम्भीरतापूर्वक लाग्न सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा बोल्दै उनीहरुले बाढीपहिरोबाट प्रभावितको पुनःस्थापनका साथै उनीहरुलाई उचित क्षतिपूर्ति दिन पनि माग गर्नुभएको छ ।

    बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद तारादेवी भट्टले देशभर बाढीपहिरोबाट अत्यधिक क्षति पुगेकाले पीडितलाई उचित क्षतिपूर्तिका लागि सरकारसँग माग गरिन्। उनले क्षति कम बेहोर्न दीर्घकालीन योजनाको खाँचो रहेको औँल्याउँदै भारतसँग देखिएको समस्या कूटनीतिक रुपमा समाधान गर्न पनि आग्रह गरिन् । सोही पार्टीका सांसद रमेशजङ्ग रायमाझीले मुलुकको विकासका लागि र सरकारले बाटो नविराओस् भनेर गठबन्धन दलबाट साझा कार्यक्रम सार्वजनिक गरिसकेको बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई कम्तीमा काम गर्न दिन पनि आग्रह गर्दै उनले सरकारले आगामी दिनमा जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गरे ।

    सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई उन्मूलन नगर्दासम्म मुलुकले सोचे अनुसारको विकास गर्न नसकिने बताए । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन पनि उनले सरकारसँग आग्रह गरे। कतिपय जिल्लामा विद्युत्लगायत विकास निर्माण कार्य अधुरै रहेकाले प्रक्रिया अघि बढाएर अधुरा योजना सम्पन्न गर्न सरकारसँग उहाँले अनुरोध गर्नुभयो । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का खिमलाल भट्टराईले एक महिना पुग्दा पनि सरकारले पूर्णता नपाउनु दुःखद भएको उल्लेख गरे । सत्ताधारी दलको आलोचना गर्दै उनले राजनीतिक दल बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भनाइ राखे ।

    सोही पार्टीका सांसद बिमला घिमिरेले दार्चुला घटनाका पीडितलाई उचित क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरिन् । कोरोनाविरुद्धको खोप लगाउने कार्य अव्यवस्थित भएकाले कोरोना सङ्क्रमण झन बढ्ने स्थितितर्फ उनले सरकारको ध्यानाकर्षण गराइन्। कक्षा १२ को परीक्षा स्थगित गर्दा विद्यार्थी मारमा परेकोमा उनले चिन्ता प्रकट गरिन्। सोही पार्टीका अगमप्रसाद वान्तवा राईले इलामको चिया बगानका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए।

    बगानले कर नतिरेको भन्ने गुनासोको वास्तविकता सार्वजनिक गर्न पनि सरकारसँग उनले माग गरे । उनले चिया बगानलाई पर्यटन विकासमा भरपुर उपयोग गर्नु पनि आग्रह गरे। एमालेकै तुलसाकुमारी दाहालले सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेर भूमिहीनको समस्या बल्झाएको बताउँदै भारतीय सीमा क्षेत्रमा रहेका सीमान्तकृत र दलित परिवारको उचित व्यवस्थापनका लागि सरकारसँग माग गरे । त्यहाँका परिवारलाई भारतीय सीमा सुरक्षाकर्मीबाट ज्यादती हुने गरेकातर्फ उनले सरकारको ध्यानाकर्षण गराए । दाहालले समानतामा आधारित सिद्धान्त लागू गर्न पनि आग्रह गरे ।

    एमालेकै उदया शर्मा पौडेलले महिला तथा बालबालिकामाथि कार्यक्षेत्रमा हुने हिंसा र दुव्र्यवहार रोक्न र उनीहरुलाई सुरक्षा प्रदान गर्न सरकारसँग अनुरोध गरे । हिंसा र दुव्र्यवहारका घटना बढ्दो क्रममा रहेकाले तत्काल हिंसा र दुव्र्यवहारसम्बन्धी महासन्धी अनुमोदन गर्न पनि उहाँले माग गरे । उनले छाडा र अपमानजनक शब्द प्रयोग गरेर गीत बनाउने क्रम देखिएकाले यसतर्फ कलाकारलाई सचेत गर्न पनि माग गरे ।

    अर्का सांसद ठगेन्द्रप्रकाश पूरीले कोभिड– १९ सबैको साझा समस्या रहेकाले सबैले कर्तव्यका साथ सामना गर्न अनुरोध गरे। उनले खोप अभियान बिना भेद्भाव र सरल रुपमा वितरण गर्नुपर्ने बताए । उनले ४७ हजारले कोरोना बीमा रकम प्राप्त गरेपनि एक लाख ९६ हजार बढीले बीमा रकम प्राप्त गर्न नसकेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images