काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनमा गलत काम गर्ने कसैलाई नभएको र राष्ट्रका सिपाही जनताका दु:खका साथी बनेर काम गर्नुपर्ने बताएका छन् ।
हिजो शुक्रबार कोशी प्रदेशस्थित सीमा ईलाकाको निरीक्षण भ्रमणका क्रममा उनले राज्यले सुम्पेको जिम्मेवारी र सङ्गठनको म्याण्डेटलाई अक्षरश: एवम् व्यावसायिक ढङ्गले पूरा गर्न समेत निर्देशन दिएका हुन् ।
महानिरीक्षक पौडेलले सीमा अपराधको जरामा पुगी कारबाही गर्ने र संगठनमा बसेर गलत काम गर्ने कसैलाई छुट छैन भन्ने मूल मर्मकासाथ नेपाल सरकारको सुशासनको नीतिलाई पूर्ण रूपमा आत्मसाथ गर्दै अघि बढ्न जोड कमाण्डर तहका अधिकृतहरुलाई निर्देशन दिए । उनले गृहमन्त्रीको प्रभावकारी कार्यसम्पादन, उपलब्ध स्रोतसाधनको उचित उपयोग र गुनासोरहित नतिजामा आधारित निर्देशनहरूलाई अक्षरश: कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
उनले कुनै पनि युनिट वा कार्यालयमा नागरिकको गुनासो आउन नदिने गरी स्रोतसाधनको समुचित परिचालन गर्न र युनिटबाट हुने सम्पूर्ण कामकारबाहीको जिम्मेवारी युनिट प्रमुख स्वयंले लिनुपर्ने स्पष्ट पार्दै कमाण्डरले उच्च अनुशासन प्रदर्शन गर्दै तल्लो तहका कर्मचारीहरूका लागि प्रेरणादायी रोल मोडल बनेर प्रस्तुत हुनुपर्ने बताए । महानिरीक्षक पौडेलले प्रभावकारी कार्यसम्पादन नै फौजको व्यावसायिकताको मुख्य मापक भएको उल्लेख गर्दै सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण एवं अवैध चोरी–निकासी र पैठारी नियन्त्रणमा उच्च व्यावसायिक क्षमता प्रदर्शन गर्न निर्देशन दिएका छन् ।
यो वा त्यो बहानामा गल्ती गर्ने छुट कसैलाई नभएको स्मरण गराउँदै उनले भने, ‘मैदानमा लड्न निस्किएको सिपाही हात खडा गरेर पछि हट्दैन हामी सबै राष्ट्रका सिपाही हौँ, पछि हट्ने वा कुनै पनि किसिमको मोलाहिजा गर्ने छुट हामीलाई छैन भन्ने व्यावसायिक अडानका साथ प्राप्त जिम्मेवारी जवाफदेहिताकासाथ पुरा गर्नुहोस् ।’
उनले सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापनको पर्यायका रूपमा स्थापित भइसकेकोले प्रत्येक कमाण्डरहरूले आफ्नो जिम्मेवारी क्षेत्रमा आउन सक्ने सम्भावित जोखिम र चुनौतीहरूको तथ्यगत पहिचानसहितको प्रतिकार्य योजना अनिवार्य हुनुपर्ने बताउँदै सीमावर्ती क्षेत्रका बासिन्दाहरूसँग नियमित अन्तरक्रिया गरी नागरिकको विश्वास र भरोसा जित्न तथा विपद्का बखत अहोरात्र खटिएर राहत र उद्धारमा जुट्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशित गरे ।


विश्व खबर 


















