काठमाडौं– बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडकखण्डमा यातायात प्रभावित भएको छ ।
नेपाल प्रहरीका अनुसार रसुवा, मनाङ, म्याग्दी, नवलपरासी पूर्व र हुम्लाका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको हो ।
गण्डकी प्रदेशअन्तर्गत मनाङको बेँसीसहर हुँदै खाङसार जाने सडक पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी तथा अन्नपूर्ण गाउँपालिका–३ सुक्केवार क्षेत्रमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ ।
नवलपरासी पूर्वमा कालीगण्डकी करिडोरअन्तर्गत दुई स्थानमा पहिरो गएको छ । बुलिङटार गाउँपालिका–६ धुमाउरीघाटमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ । यस्तै, बौदीकाली गाउँपालिका–३ जन्ती क्षेत्रमा पहिरो गएपछि कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा रहे पनि ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।
यसैगरी, कर्णाली प्रदेशको हुम्लामा सिमकोट–हिल्सा सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडोढुंगालगायत क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको विवरणमा उल्लेख छ ।
प्रहरीको विवरणअनुसार बाढीपहिरो प्रभावित सडकखण्डमा तत्काल यातायात सञ्चालन गर्न कठिन रहेकाले यात्रुले सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्नुपर्ने अवस्था देखिएको छ ।



विश्व खबर 


















