images
images
  • चितवन हत्याकाण्डमा सेनाको बदमासी: ‘कोर्टमार्सल’ गरिएका दुई जना निर्दोष सिपाही दुई बर्षदेखि प्रताडित

    काठमाडौं– दुई वर्षअघि चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणबाट १०७९२ नम्बरको अत्याधुनिक हतियार एसएमजी (सट मेसिन गन) चोरी भयो। म्यागजिनसहित एसएमजी गन चोरी भएपछि नेपाली सेनाभित्र खैलाबैला मच्चियो।

    त्यतिबेला चोरीको आरोपमा सैनिक अदालतले दुई जनालाई दोषी देखाउँदै थुनामा पठाउन आदेश दियो। हतियार चोरेको आरोपमा हाल पनि उनीहरु सैनिक जेलमा रहेको सैनिक स्रोतले बतायो। गणबाट हतियार नै गायब हुनु सेनाभित्रको गम्भीर अपराध मानिन्छ।त्यतिबेला सैनिक अदालतले एसएमजी चोरीको आरोपमा उदयपुर गाईघाटका सिपाही लव गुरुङ र सुनसरी इटहरीका सरोज गुरुङलाई दोषी करार गर्दै जेल पठाएको थियो। त्यतिबेला गणका तत्कालिन मेजर दीपेन्द्र श्रेष्ठको कारण उनीहरुलाई सैनिक अदालतले जेल पठाएको खुलेको छ।

    साउन २०७५ मा उनीहरु मिसन गएर फर्किएका थिए। उनीहरुको दरबन्दी कालीबहादुर गण थियो। नेपाली सेनामा मिसनबाट फर्केपछि गणपतिलाई रिझाउनको लागि पैसादेखि पार्टी दिने चलन छ। तर, उनीहरुले गणपतिलाई रिझाउनुको सट्टा उल्टो पार्टीमा समेत बोलाएनन्।त्यसपछि गणपति श्रेष्ठले उनीहरुसँग असन्तुष्टि जनाउन थाले। उनीहरुलाई पेल्न थाले। एकदिन साँझ नारायणगढको एउटा दोहोरीमा गएको बेला मेजर श्रेष्ठ पनि त्यहिँ रहेको खुलेको छ। त्यतिबेला पनि श्रेष्ठले उनीहरुसँग झगडा गरेका थिए। ‘त्यतिबेला पनि गणपतिले उनीहरुलाई एउटा न एउटा घटनामा फसाइदिने भन्दै धम्क्याउँथे रे,’ पीडितका परिवारहरुको गुनासो छ। श्रेष्ठ कालीबहादुर गणको प्रमुख रहेको बेला एसएमजी गन चोरी भएको पीडित परिवारको भनाइ छ। गुरुङद्वयलाई फसाउने उक्त समय श्रेष्ठको लागि उपयुक्त थियो।

    घटना २ पुस २०७५ को हो। जबकी त्यतिबेला उनीहरु विदामा घर गएका थिए। घर गएका उनीहरुलाई शंका गर्दै मेजर श्रेष्ठले टर्चर दिन थाले। घरबाटै पक्राउ गरेर उनीहरुलाई ल्याइयो। उक्त हतियार उनीहरुले नै चोरेको भन्दै मेजर श्रेष्ठले जबरजस्ती कबुल गर्न लगाए। ‘यसरी जबरजस्ती चोरी नै नगरेको कुरालाई कबुल गर्न लगाएर उनीहरुलाई फसाइयो,’ पीडित परिवार भन्छन्, ‘अहिले उक्त चोरी भएको भनिएको एसएमजी गन भेटिएको खबर सुनेका छौं। केहीदिन अघि चितवन गएर बुझ्दा पनि उक्त नम्बरको हतियार हो–होइन पुष्टि चाहिँ कतैबाट पनि हुन सकेन।’ सेनाको बदमासीले गर्दा उनीहरु निर्दोष व्यक्तिले अनाहकमा जेल जानुपरेको पीडित परिवारको गुनासो छ। पछिल्लो समयको एउटा अपराधको घटनाले गर्दा त्यतिबेलाको एसएमजी चोरीको घटनालाई उजागार गरेको छ।

    ७ साउनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या भयो। गुरुङको हत्याले नेपाली सेनाभित्रको एउटा डरलाग्दो विकृतिलाई पर्दाफास गरेको छ। चितवन भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका गुरुङलाई आफ्नै साथी सैनिक जवान गंगाधर ढकालले एसएमजीले हानेर हत्या गरेको चितवन प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिइसकेको छ। गुरुङको हत्यामा दुई वर्षअघि हराएको एसएमजी ‘गन’ नै प्रयोग भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हराएको गन र गुरुङको हत्यामा प्रयोग भएको गनको लट नम्बर एउटै रहेको एक उच्च सैनिक अधिकारीले बताए।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार गुरुङको हत्यामा नेपाली सेनासँग रहेको स्वचालित हतियार एसएमजी गन प्रयोग गरिएको पाइएको छ। उक्त एसएमजी गन ढकालले दुई वर्षअघि कालीबहादुर गणबाट चोरेको प्रहरी समक्ष बयान दिएका छन्।  ढकालले चोरी गरेको एसएमजी गनकै कारण उनीहरु अनाहकमा जेल परे। यसरी सैनिक अदालतको गलत फैसलाले निर्दोष व्यक्तिललाई दोषी बनायो। अनि, अनाहकमा जेलको हावा खान बाध्य बनायो। सेनाभित्रको बदमासीले गर्दा उनीहरुलाई अपराधीको ट्याग भिराइयो। सेनाको आन्तरिक अनुसन्धान र प्रहरीको अनुसन्धानबाट पनि हत्यामा प्रयोग गरिएको एसएमजी गन चितवनस्थित कालीबहादुर गणबाट चोरिएको हतियार रहेको पुष्टि भइसकेको छ। तर, नेपाली सेनाले त्यसबारे औपचारिक जानकारी दिन चाहेको छैन।

    कोर्टमार्सलमाथि प्रश्न

    सैनिक जवान ढकालले बयानमा आफूले चोरेको भनेपछि सैनिक अदालतमाथि प्रश्न उठेको छ। ढकालले कालीबहादुर गणबाट एसएमजी हतियार चोरेको पुष्टि भएपछि सैनिक अदालतको आदेशले थुनामा गएका गुरुङद्वय निर्दोष रहेको यसै साबित हुन्छ।

    सैनिक अदालतको बदमासीले फर्जी अभियोगमा ‘कोर्टमार्सल’ गरिएका उनीहरु दुई बर्षदेखि प्रताडित भए। बिनाकारण जेलमा उनीहरुलाई मानसिक तनावसहित ‘कोर्रा’ समेत लगाइएको छ। दुई वर्षसम्म अभियुक्त बनाएर सैनिक अदालतको निर्णयले उनीहरु जेलमा बस्न बाध्य भए। यसको क्षतिपूर्ति उनीहरुलाई सैनिक अदालतले कसरी दिनसक्छरु अब उनीहरु क्षतिपूर्ति पाऊँ भन्दै कहाँ जानेरु मेजर श्रेष्ठको दबाबमा बिनाकारण थुन्ने र मानसिक तनाव दिने सैनिक अदालतको फैसालले सेनाको संगठन प्रमुखमाथि प्रश्न तेर्सिएको छ।

    यसरी निर्दोष व्यक्तिलाई दोषी देखाएर जेल पठाउने सैनिक अदालतको बदमासीले उनीहरु जस्तै अरु कतिले अनाहकमा जेल बस्नुपरेको होलारु उनीहरुको गुमेको सामाजिक प्रतिष्ठालाई उकास्नको लागि संगठन प्रमुखले के फर्जी फैसला सुनाउने अधिकृतमाथि कारबाही गर्लान्रु भन्ने सेनाभित्र शंकास्पद प्रश्न उठेको छ।  त्यतिबेला चोरी भएको एसएमजी गन भेटिएको खबर सुनेपछि मेजर श्रेष्ठ जेलमा रहेका उनीहरुलाई भेट्न समेत पुगेको अनलाइनन्युजले पत्ता लगाएको छ।

    त्यतिमात्र होइन आफूलाई जोगाइदिन भन्दै उनले आफ्नो नजिकको मान्छेहरुलाई समेत भेट्न पठाएको स्रोतले बतायो।

    एसएमजी गन सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तीनवटै सुरक्षा अंगले प्रयोग गर्ने हतियार हो। सेनासँग यो हतियार सबैभन्दा बढी छ। सुरक्षा निकायमा हतियार हराउनु, चोरी हुनुलाई ठूलो कसुर मानिन्छ। ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेर लापरबाहीमा संलग्नलाई कारबाही हुन्छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images