काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री शाह आज शनिबार दिउँसो काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङमार्फत जानकारी दिएको छ । महासभामा भाग लिन प्रधानमन्त्री साह गत मंगलबार साँझ अमेरिका पुगेका थिए ।
उनले महासभालाई ८ गते सम्बोधन गर्दै नेपालको प्राथमिकता, अन्तर्राष्ट्रिय सहकार्य तथा समसामयिक विषयमा नेपालको धारणा प्रस्तुत गरेका थिए । अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री साहले राष्ट्रसंघका महासचिव एन्टोनी गुटरेससँग भेटवार्ता गरेका थिए ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
यसैबीच, प्रधानमन्त्री साहको स्वदेश फिर्तीसँगै कार्यबाहक प्रधानमन्त्रीको भूमिका रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आजै कतारको दोहा प्रस्थान गरेका छन् । एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी)को सञ्चालक समितिको ११औं वार्षिक बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डा. वाग्ले दोहा प्रस्थान गरेका हुन् ।
सोमबार र मंगलबार दोहामा हुने बैठकमा मन्त्री वाग्लेसहित अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, सहसचिव अमृत लम्साल सहभागी हुँदै छन् । एआईआईबीको वार्षिक बैठकका क्रममा अर्थमन्त्रीले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउँदै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण, र आर्थिक वृद्धिका प्राथमिकताहरूमा बहुपक्षीय सहयोग तथा लगानी परिचालनबारे छलफल गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा अर्थमन्त्रीले एआईआईबीका अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरुसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्री डा. वाग्ले असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


विश्व खबर 


















