काठमाडौं– जल तथा मौसम विभागले आगामी केही दिन भारी वर्षाको सम्भावना औँल्याएपछि मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत् आयोजना क्षेत्रमा सतर्कता बढाइएको छ ।
सम्भावित बाढीबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि मकवानपुर प्रशासनले कुलेखानी क्षेत्रमा तीन स्थानमा साइरन जडान गरेको छ ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रल्हाद राउतका अनुसार जलाशयको बाँध, सिस्नेरी प्रहरीचौकी र इन्द्रसरोवर गाउँपालिकाको कार्यालयमा साइरन जडान गरिएको हो ।
निरन्तर वर्षाका कारण जलाशयको जलसतह बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर सर्वसाधारणलाई समयमै सचेत गराउन साइरनको व्यवस्था गरिएको राउतले बताउनुभयो ।
जलसतह बढेपछि फरक–फरक संकेत
राउतका अनुसार इन्द्रसरोवर जलाशयमा हाल जलसतह सामान्य अवस्थामा छ। बुधबार जलसतह १ हजार ५२२ दशमलव २५ मिटर रहेको उहाँले जानकारी दिनुभयो ।
जलसतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइनेछ। त्यस्तै, जलसतह १ हजार ५२८ मिटर पुगेपछि दोस्रो चेतावनीसहित केही लामो समय साइरन बजाइनेछ ।
त्यसभन्दा माथि जलसतह पुगेमा निरन्तर लामो समयसम्म साइरन बजाइने व्यवस्था गरिएको छ। साइरनको संकेतअनुसार स्थानीय बासिन्दाले आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्ने आयोजनाले जनाएको छ ।
प्रशासनद्वारा स्थलगत निरीक्षण
सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बुधबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी नेतृत्वको टोलीले कुलेखानी जलाशय क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।
टोलीले जलाशय क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै सम्बन्धित सरोकारवालासँग सम्भावित जोखिम र पूर्वतयारीका विषयमा छलफल गरेको थियो ।
भारी वर्षाको प्रक्षेपण रहेकाले सबैले आ–आफ्नो स्थानबाट आवश्यक सुरक्षा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
मकवानपुरको हेटौँडा तथा आसपासका क्षेत्रमा बिहानदेखि निरन्तर वर्षा भइरहेको छ ।


विश्व खबर 


















