images
images
  • प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र गरेको ‘आन्तरिक सुधार’को ‘रोलमोडल’

    • images
    • २४ श्रावण २०७८

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा अबको एक महिनामा अवकाशमा जाँदैछन् । अवकाश पाउनुअघि साउन २५ बाट उनी बिदामा बस्दैछन् । कार्यकाल सकिनुभन्दा १ महिनाअघि बिदामा बसेर उत्तराधिकारीलाई कार्यवाहक जिम्मेवारी दिने सैन्य परम्परा छ ।

    प्रधानसेनापति थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई साउन २५ मा जंगी अड्डामा आयोजित समारोहमा बुझबुझारथ गरेर घर बिदामा बस्ने सैनिक प्रवक्ता (सहायकरथी) सन्तोषबल्लभ पौड्यालले जानकारी दिए । १ महिना कायम मुकायम भएर शर्माले भदौ २४ देखी नेपाली सेनाको ४४ औं प्रधानसेनापतिको कमाण्ड समाल्ने छन् ।

    ४३ औं प्रधानसेनापति पूर्णचन्द्रले सेवानिवृत्त हुनुभन्दा ३ महिनाअघि जेठ २३ मा पत्रकारहरुसँग नेतृत्व हस्तान्तरणको प्रक्रिया शुरु भएको घोषणा गरेका थिए ।
    प्रधानसेनापति थापाले ४३ औं प्रधानसेनापतिको रुपमा ३ वर्ष काम गरेका छन् । सो अवधिमा पूर्णचन्द्र थापाले गरेका सम्झन लायक काम मध्येका मूख्य काम हो–‘आन्तरिक सुधार’। सैनिक अधिकृतहरु थापालाई सेनाभित्रको आन्तरिक सुधारका ‘रोलमोडल’का रुपमा चर्चा गर्छन् ।

    ४३ औं प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै थापाले ‘आन्तरिक सुधार’ गर्ने पहिलो जिम्मेवारी भएको घोषणा गरेका थिए । त्यसमा उनले आँट गरे, जर्नेललाई समेत बर्खास्त गरेर घरको बाटो देखाए । सैनिक अनुशासन, नैतिकता र आचरणको सवालमा थापाले कठोर निर्णय लिएका थिए ।

    प्रधान सेनापतिको कमाण्ड समालेपछि उनले भ्रष्टाचार बिरुद्ध ‘शून्य सहनशिलता’को बाटो अपनाएका थिए । भ्रष्टाचारमा संलग्न भएको आरोपमा थापाले उपरथी (पाइलट) सुधिर श्रेष्ठ, सहायकरथी प्रयाग शम्शेर र शुरेन्द्र बरसिंह रावल सहित १० जना सैनिक अधिकृतलाई कारवाही गरे । प्रधान सेनापतिले कारवाहीको डण्डा चलाउन थालेपछि कैयनले जागिर छाडे । ३ वर्षको अवधिमा ३ सय ४५ जना सैनिक अधिकारीमाथि कारवाही भएको छ ।
    थापाको समय आन्तरिक व्यवस्थापनमा बितेको तर, राष्ट्रिय चुनौतीमा ध्यान दिन नसकेको बताउँछन्, पूर्व उपरथी बिनोज बस्नेत । ‘राष्ट्रिय चुनौति जुन छन्, ती चुनौतीमा चाहिँ वर्तमान प्रधान सेनापतिको समय नपुगेको देखिन्छ’ पूर्व उपरथी बस्नेत भन्छन्–‘भावी प्रधानसेनापति शर्माले सरकार प्रमुख र राष्ट्र प्रमुखलाई राष्ट्रिय सुरक्षा र सामरिक सुरक्षाको महत्वबारे कन्भिन्स गर्न ठूलो भुमिका खेल्नुपर्छ ।’

    सैनिकभित्र संरचनामा परिर्वतन

    थापाको कार्यकालमा सैनिक संगठन ८ पृतनाबाट ३ प्लस एकको संरचनामा गएको छ । सो संरचना अपर्याप्त रहेको जानकारहरु बताउँछन् । त्यसलाई पूर्णता दिनुपर्ने जिम्मेवारी थापाले शर्मालाई छाडेका छन् । राष्ट्रिय सुरक्षामा सो संरचना मजबुद भएमा त्यसको जस थापाले नै पाउँछन् । संरचना मजबुद नभए अपजसको भागिदार पनि थापा नै हुनेछन् ।
    ‘भुगोलका आधारमा संगठनको पुनर्संरचना गर्दा नदिनालालाई मात्र लिन मिल्दैन’ बस्नेत भन्छन्–‘चिन र भारतमा सैनिक मुभमेन्ट गर्नसक्ने क्षमता धेरै छ त्यसैले नेपालको पनि डिफेन्स बलियो बनाउनुपर्छ ।’
    नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने जिम्मेवारी नेपाली सेनाको काँधमा छ । केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन र त्यसपछिका राजनितिक गतिविधि प्रति नेपाली सेना चिन्तित थियो ।

    भर्नादखी शान्ति सेनासम्म

    प्रधान सेनापति थापाको कार्यकालमा सेनाको अधिकृत क्याडेट र सैन्य भर्नामा हुने गरेका आर्थिक अपचलन र भनसुन रोकिएको दाबी गरिएको छ । भर्ना छनोट कार्यमा संलग्न १५५ जना सकल दर्जालाई विगत दुई वर्षको अवधिमा कारवाही गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    २०७५ बाट सेनामा ‘शान्ति सेना छनौट कार्यविधि’ लागु भएको छ । प्रधानसेनापतिले कार्यविधि लागु गरेर गलत प्रथा र प्रचलनलाई अन्त्य गरेर युएन मिसनमा सैनिकलाई समान अवसर दिने प्रयासको थालनी गरेका छन् । नेपाली सेनामा कार्यरत सबै सकल दर्जालाई कम्तिमा एकपटक शान्ति सेनामा सहभागी गराउने उद्देश्यसहित थापाले कार्यविधि लागु गरेका हुन् ।जंगी अड्डामा कार्यरत एकजना उच्च अधिकृतले भने–‘शान्ति मिसनमा जान विगतको ‘कोटा प्रणाली’ र भनसुनमा चाहिँ कमी आएको छ ।’

    नक्कली सर्टिफिकेट छानबिन र उमेर घटाएर किर्ते नागरिकता बनाउनेहरूमाथि पनि थापाले कैंची चलाएर राम्रो शुरुवात गरेका छन् ।

    ‘सैनिक आचार संहिता–२०७६’ लागु

    नेपाली सेनामा खाना पकाउने इन्धनको रुपमा विगत लामो समयदेखि मट्टीतेल प्रयोग गरिन्थ्यो । खाना पकाउन सहज र भान्सामा काम गर्नेहरुको स्वास्थ्यमा ध्यान दिँदै थापाले मट्टीतेल युगको अन्त्य गरे । सेनाका हरेक पल्टनको ब्यारेकमा आजभोलि खाना पकाउन एलपी ग्याँसको प्रयोग हुन्छ ।

    थापाको कार्यकालमा नेपाली सेनाको भान्सामा पहिलोपटक शाकाहारी रासनको ब्यवस्था गरिएको छ । शाकाहारी सैनिकका लागि च्याउ, पनिर र फलफूलको रासन स्केल कायम गरिएको छ । प्रत्येक ब्यारेकमा वाटर ट्रिटमेन्ट प्लान्ट ब्यवस्था गरिएको छ ।

    पूर्णचन्द्र थापाले आन्तरिक सुधारलाई मजबुद बनाउन ‘सैनिक आचार संहिता–२०७६’ लागु गरेका छन् । आन्तरिक सुधारमा राम्रो सुरुवात गरेर थापा जंगी अड्डाबाट बाहिरिँदै छन् । अब, उनले गरेका राम्रो शुरुवातलाई निरन्तरता दिँदै राष्ट्रिय सुरक्षामा थपिएका चुनौतीसँग मुकाविला गर्नुपर्ने दायित्व प्रभुराम शर्माको काँधमा आएको छ ।

    आन्तरिक सुधारतर्फ राम्रो प्रयास गरेका थापालाई दु्रतमार्गको अन्तर्राष्ट्रिय परामर्शदाता छनौटमा चाहिँ मनोमानी गरेको आरोप छ । संसदको लेखा समितीले त्यसबारे छानविन गरिरहेको छ । नेपाली सेनाले निर्माण संयोजन गरिरहेको दु्रतमार्गको विषयलाई लिएर तत्कालिन उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र सेनापतिको बीचमा द्वन्द्व भएपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेललाई रक्षामन्त्रीबाट हटाएका थिए ।

    अब नेपाली सेनाभित्र आन्तरिक सुदृढीकरणमा थापाले गरेको राम्रो शुरुवातलाई निरन्तरता दिने चुनौती कायम मुकायम सेनापति शर्माको काँधमा आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images