काठमाडौं । नेपालमा पछिल्लो समय दैनिक कोरोना संक्रमण साउन १० गते २२ सयमा झरेको थियो। त्यसपछिको अवधिमा भने झन्डै दोब्बर बढेको छ। बिहीबार ३ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ। यही अवधिमा बुधबार सबैभन्दा बढी ४ हजार १ सय ७ जनामा कोरोना पुष्टि भयो।
स्वयं परीक्षण गर्न जाँदा पनि यत्रो संख्यामा दैनिक संक्रमण पुष्टि भइरहेको छ। यो अवस्थालाई विज्ञहरूले कोरोना संक्रमणको तेस्रो लहरको सुरुवाती संकेतका रूपमा लिइरहेका छन्।सक्रिय संक्रमितको संख्या फेरि ३४ हजार ४ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार १ सय ८ जना होम आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा उपचाररत रहनेको संख्या ३ हजार ३ सय १४ छ। १ सय ५८ जना भेन्टिलेटरमा उपचाररत छन्। त्यस्तै ७ सय १३ जना सघन उपचार कक्ष ९आईसीयू०मा उपचाररत छन्।
मन्त्रालयले आगामी पाँच महिनाभित्र १ लाख ९३ हजार ८ सय ५६ जना संक्रमित थपिने प्रक्षेपण गरेको छ। जसमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने देखिन्छ। ९ हजार ६ सय ९३ जनालाई सघन उपचार ९आईसीयू० आवश्यक पर्न सक्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ।
साउनमा ५३ हजार ३ सय ७, भदौमा ४५ हजार ७ सय २६, असोजमा ३८ हजार ५ सय ९७, कात्तिकमा ३१ हजार ४४ र मसिंरमा २५ हजार १ सय ८३ संक्रमित थपिने मन्त्रालयद्वारा प्रक्षेपित तथ्यांकमा उल्लेख छ। मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा। गुणराज लोहनीले कोरोना संक्रमणको यो प्रक्षेपण बिहीबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा प्रस्तुत गरेका हुन्।
जनस्वास्थ्य विज्ञ डा। बाबुराम मरासिनी तीज आसपास कोरोना संक्रमणको उचाइ अग्लिँदै जाने आकलन गर्छन्। भन्छन्, ‘अहिलेको माहोल र अवस्था हेर्दा चाडपर्वको आगमनसँगै संक्रमणले पनि बिस्तारै उचाइ लिन्छ।’
काठमाडौं उपत्यकामा रहेका कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल ९वीर अस्पताल०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, शिक्षण अस्पताल महराजगन्ज र पाटन अस्पतालमा संक्रमितहरू भर्ना हुने क्रम बढेको छ।
अहिले भइरहेको पीसीआररएन्टिजेन परीक्षण ‘प्यासिभ’ भएकाले संक्रमितको संख्या धेरै नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा। सुशीलनाथ प्याकुरेल बताउँछन्। ‘लक्षण भएका वा शंका लागेर आएका व्यक्तिको मात्र परीक्षण गरिएको छ। बिरामी आफैं खुसीले आएपछि गरिएको परीक्षण प्यासिभ टेस्टिङ हो’, डा। प्याकुरेल भन्छन्, ‘घर–घरमा गएर एक्टिभ टेस्टिङ गर्ने हो भने संक्रमितको संख्या झन् बढ्छ।’
दक्षिणी छिमेकी भारतमा कोरोना संक्रमणको बढोत्तरीसँगै सीमावर्ती १७ भन्दा बढी जिल्ला उच्च जोखिममा देखिएका छन्। विज्ञका अनुसार, संक्रमणको तेस्रो लहरले भारत र नेपालमा जोखिमको ढोका ढकढकाइरहेको छ। सीमावर्ती जिल्लामा निर्वाध आवागमन र खुकुलो निषेधाज्ञाले संक्रमण तीव्र बनाएको छ। सीमावर्ती जिल्लाहरु झापा, मोरङ, सुनसरी, रुपन्देही, बाँकेलगायतका तराईका जिल्लामा अस्पतालमा परीक्षण एवं उपचारका लागि आउने बिरामी दिनानुदिन बढिरहेका छन्।
बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभे्रपलाञ्चोक, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बाग्लुङमा संक्रमित बढेका छन्। त्यस्तै कर्णाली प्रदेशको सुर्खेतमा पनि संक्रमितको संख्या उकालो लागिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले १४ साउनमा कोरोनाको सम्भावित तेस्रो लहरलाई ध्यान दिँदै भौतिक संरचनाको व्यवस्थापन र खोपको प्रबन्ध गर्न सरकारलाई निर्देशनसमेत दिएको थियो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा। अनुप बास्तोलाका अनुसार अहिले सम्भवतः दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा छ। ‘धेरैभन्दा धेरैलाई खोपको व्यवस्था हुन नसके र सुरक्षा मापदण्ड पालना गर्ने नगरे यो महामारीले अर्को रूप नलेला भन्न सकिन्न’, उनी भन्छन्, ‘दोस्रो लहरको उत्कर्षमा भोग्नु परेको बेहाल अवस्था फेरि पनि आइलागे धान्न सक्ने धैर्य शायद नरहन सक्छ।’
भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख नाघेको छ। त्यहाँ साउन पहिलो सातादेखि संक्रमण फेरि बढेको हो। भारतको केरला, महाराष्ट्र, कर्नाटकलगायत राज्यमा संक्रमण तीव्र गतिमा बढिरहेको छ। त्यहाँ बिहीबार ४२ हजार ९ सय ८२ जनामा कोरोना देखिएको छ। बुधबार ४२ हजार ६ सय २५ जना संक्रमित भएका थिए। पछिल्लो समय दैनिक संक्रमण ३८ हजारमा झरेको थियो।


विश्व खबर 


















