images
images
  • भोटेकोशी बाढीमा परेका १,३९५ को शव भेटियो, ५,१३० जना अझै बेपत्ता

    काठमाडौं– भोटेकोशी नदीमा आएको भिषण बाढीमा परी हालसम्म १ हजार ३९५ जनाको शव फेला परेको छ भने ५ हजार १३० जना नागरिक अझै सम्पर्कविहीन रहेका छन् ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार फेला परेका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा ३६४ जनाको रहेको छ ।

    त्यस्तै नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । उपचारका क्रममा काठमाडौँमा थप दुई जनाको मृत्यु भएको छ ।

    भ्रामक वा अस्पष्ट पहिचानका कारण हालसम्म फेला परेका शवमध्ये १०४ जनाको मात्रै सनाखत हुन सकेको छ । बाँकी शवहरूको पहिचानका लागि डीएनए परीक्षणलगायतका प्राविधिक प्रक्रियाहरू द्रुत गतिमा अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

    बाढी प्रभावित क्षेत्रहरूबाट हालसम्म १३ हजार ७३७ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूलाई विभिन्न ३३ वटा होल्डिङ सेन्टरहरूमा सुरक्षित राखिएको छ, जसमध्ये नुवाकोटमा १,४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना रहेका छन् ।

    घाइतेहरूको उपचारका लागि विभिन्न १९ वटा अस्पतालहरूमा ३४१ जनालाई भर्ना गरिएकामा २७८ जना निको भएर घर फर्किसकेका छन् । यसका साथै सुरक्षा निकायहरूमार्फत सञ्चालित स्वास्थ्य शिविरबाट थप ९ हजार ३५८ जनाले उपचार सेवा लिएका छन् ।

    प्रभावित क्षेत्रमा परेको मानसिक असरलाई सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ । नेपाल प्रहरीले चलाएका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श दिइएको छ ।

    बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि राज्यका सम्पूर्ण निकाय, सुरक्षाकर्मी र स्थानीय तहहरू राहत, पुनस्र्थापना र बेपत्ता नागरिकहरूको खोजी कार्यमा पूर्ण क्षमताका साथ जुटिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images