काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुनर्निर्मित कार्यालय भवनको आइतबार उद्घाटन गरेका छन् ।
उद्घाटनपछि उनले भवनको अवलोकनसमेत गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन पुनर्निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कदरपत्र र प्रशंसापत्र प्रदान गरेका थिए ।
कार्कीले पूर्ण रूपमा क्षति भएका प्रहरी भवन पुनर्निर्माणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै यस सहयोगले प्रहरी र समुदायबीचको सम्बन्ध अझ आत्मीय बनाउन तथा नेपाल प्रहरीलाई नागरिकमैत्री, उत्तरदायी र सेवाभावका साथ काम गर्न प्रेरणा दिएको बताएका थिए ।
उनले प्रहरी संरचनाको पुनर्निर्माणसँगै समुदाय र प्रहरीबीचको सम्बन्धको पनि पुनर्निर्माण भएको उल्लेख गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्य जारी रहने अपेक्षा व्यक्त गरेका थिए । साथै, पुनर्निर्मित भवनमा कार्यरत प्रहरी कर्मचारीलाई जिम्मेवार, अनुशासित, पारदर्शी, संवेदनशील र नागरिकप्रति समर्पित भएर काम गर्न निर्देशन दिएका थिए ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले शुभकामना मन्तव्य दिएका थिए । भवन पुनर्निर्माण कार्य समितिका अध्यक्ष एवं काठमाडौं महानगरपालिका–८ का अध्यक्ष आशामान संगतले धन्यवाद ज्ञापन गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले स्वागत मन्तव्य दिएका थिए भने भवन पुनर्निर्माण समितिका कोषाध्यक्ष वि.एन. पाठकले भवन निर्माणसम्बन्धी प्रतिवेदन र इन्जिनियर डा. शंकर ढकालले प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्ले, वरिष्ठ प्रहरी अधिकृत, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।























