काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण स्थगित गरिएको करदाता प्रोत्साहन कार्यक्रम असोज १ गतेदेखि सुचारू गरिने भएको छ ।
करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो ।
साउन १ गतेदेखि सुरू गरिएको सो योजना असोज १ गतेदेखि पुन: निरन्तरता दिने तयारी सरकारको छ । असोज १ गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
विभागका अनुसार पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्ताहरू सो योजनामा सहभागी हुनेछन् ।
पुरस्कारका लागि योग्य हुन उपभोक्ताले अनिवार्य रूपमा एक सय रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्छ । कारोबार गर्दा सकेसम्म अनलाइन भुक्तानी गर्नुपर्छ ।
विभागका अनुसार अनलाइनमार्फत गरिएको कारोबार स्वत: सरकारको करदाता प्रोत्साहन प्रणालीमा समावेश हुन्छ । नगदमा कारोबार गरेर सक्कली बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा गई आफूले प्राप्त गरेको बिल अपलोड गरेर पुरस्कारका लागि योग्य बन्न कुपन लिनुपर्छ ।
यो योजनाअन्तर्गत साउन महिनामा ३३ जनाले पुरस्कार जितेका थिए ।























