images
images
  • मिटरब्याज नियन्त्रणदेखि दुई प्रदेशमा प्रमुख सचिव नियुक्तिसम्म, मन्त्रिपरिषद्का सात निर्णय

    काठमाडौं– सरकारले मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी नयाँ विधेयक ल्याउनेदेखि दुई प्रदेशमा नयाँ प्रमुख सचिव नियुक्तिसम्मका सात महत्वपूर्ण निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने भ्रमण स्वीकृत गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

    मन्त्रिपरिषद्ले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमितिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णयसमेत गरेको छ ।

    त्यस्तै, अनुचित लेनदेन अर्थात् मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ ।

    मिटरब्याजबाट पीडित नागरिकको समस्या समाधान तथा अनुचित लेनदेन नियन्त्रणका लागि कानुनी व्यवस्था थप प्रभावकारी बनाउने उद्देश्यले विधेयक अघि बढाउन लागिएको हो ।

    सरकारले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका २७ स्थानीय तहमा रहेका १७ हजार ४३८ गरिब घरपरिवारको सूची पनि स्वीकृत गरेको छ ।

    बैठकले शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ । आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साल, सदस्यमा मकवानपुरका रामशरण सापकोटा तथा महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे रिमाललाई नियुक्त गरिएको छ ।

    यसैगरी, सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ ।

    सहसचिव उत्तरकुमार खत्रीलाई पनि राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images