images
images
  • आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

    काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानको आसपास रहेको छ ।

    हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बदली रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ ।

    तराई क्षेत्रमा पनि वर्षाको सम्भावना उच्च रहेको छ । मधेशसहित बागमती र गण्डकी प्रदेशका तराई भू–भागका धेरै स्थान, कोशी र लुम्बिनीका केही स्थान तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    भारी वर्षाको जोखिम भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार यी प्रदेशका पहाडी तथा तराईका केही भू–भागमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ ।

    आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

    भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, भूक्षय तथा सडक आवागमनमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images