images
images
  • इस्लामावाद उच्च अदालतले भन्यो– इमरान खान दम्पतीबीच भेटघाटको व्यवस्था मिलाइदिनू

    काठमाडौं– पाकिस्तानको अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई थप एकान्त कारावासमा नराख्न आदेश दिएको छ ।

    इस्लामाबाद उच्च अदालतले रावलपिन्डीस्थित अडियाला कारागार प्रशासनलाई कारागार नियमअनुसार इमरान खान र बुशराबीच भेटको व्यवस्था मिलाउन आदेश दिएको हो ।

    अदालतले खानका परिवारका सदस्यलाई कारागार नियमअनुसार भेट्न दिन तथा उनका छोराहरूसँग टेलिफोनमार्फत कुराकानीको व्यवस्था गर्नसमेत आदेश दिएको छ । साथै, उनलाई दैनिक पत्रपत्रिका र पुस्तक उपलब्ध गराउन तथा कारागार नियमअनुसार आवश्यक स्वास्थ्य उपचार सुनिश्चित गर्न निर्देशन दिइएको छ ।

    ७३ वर्षीय इमरान खान सन् २०२३ को अगस्टदेखि जेलमा छन् । भ्रष्टाचारलगायत मुद्दामा उनी लामो कारावास सजाय भोगिरहेका छन् । उनकी पत्नी बुशरा बीबी पनि भ्रष्टाचारसम्बन्धी मुद्दामा सजाय पाएपछि अडियाला कारागारमा सजाय भुक्तान गरिरहेकी छिन् ।

    इमरान खानकी बहिनी अलीमा खानले उनलाई एकान्त कारावासमा राखिएको भन्दै अदालतमा निवेदन दिएकी थिइन् । बुशरा बीबीकी छोरी मुबाशेरा खावर मानेकाले पनि आमाको अवस्थाबारे छुट्टै निवेदन दिएकी थिइन् ।

    अदालतले अडियाला कारागारका प्रमुखलाई आदेश कार्यान्वयन गरी १५ दिनभित्र प्रगति विवरण बुझाउन निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images