काठमाडौं– बाढी प्रभावित क्षेत्रमा राहत तथा पूर्वाधार पुनरोत्थानका लागि सरकारले एक अर्ब रुपैयाँ निकासा गरेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको रकममध्येबाट सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
एभरेष्ट बैंक सिंहदरबार शाखामा रहेको कोषको रकम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिए ।
पालिका अनुसार विनियोजित रकम
नुवाकोट : विदुर नगरपालिकालाई रू. १ करोड ५० लाख, बेलकोटगढीलाई रू. ७५ लाख, तारकेश्वरलाई रू. ५० लाख र किस्पाङ गाउँपालिकालाई रू. २५ लाख ।
रसुवा : गोसाइँकुण्ड गाउँपालिकालाई रू. १ करोड, उत्तरगयालाई रू. ७५ लाख, कालिकालाई रू. ३० लाख र आमछोदिङ्गोलाई रू. २० लाख ।
धादिङ : गल्छी गाउँपालिकालाई रू. ३० लाख तथा सिद्धलेक, गजुरी र बेनिघाट रोराङ गाउँपालिकालाई रू. २०/२० लाख ।
गोरखा र तनहुँ : गोरखाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट गाउँपालिकालाई रू. २०/२० लाख ।
बाढी प्रभावित १५ पालिकाका लागि यसअघि रू. ६ करोड ५० लाख र बाढीकै दिन रू. २ करोड ५० लाख गरी हालसम्म कूल रू. १३ करोड ५० लाख निकासा भइसकेको कार्यकारी प्रमुख उप्रेतीले बताए ।
रकम के–का लागि खर्च हुनेछ ?
अबरुद्ध सडक, खानेपानी, विद्युत् र सञ्चार सेवा तत्काल सञ्चालन गर्न, स्वास्थ्य चौकी र विद्यालयका संरचना अस्थायी रूपमा मर्मत गरी सेवा सुचारु गर्न, पीडित परिवारलाई तत्काल वासस्थानको प्रबन्ध तथा राहत सामग्री ढुवानी गर्न यो रकम प्रयोग गरिने बताइएको छ ।























