images
images
  • लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सन्यास लिए

    काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनल मेसीले राष्ट्रिय टोलीबाट संन्यास लिने घोषणा गरेका छन् ।

    उनले जुलाई २१ मा लेखेको वक्तव्य सार्वजनिक गर्दै आफू यस निर्णयमा पहिलेभन्दा अझ दृढ रहेको बताएका छन् ।

    ३९ वर्षीय मेसीले लामो समय सोचेर राष्ट्रिय टोलीबाट अलग हुने निर्णय गरेको बताएका छन् । यो निर्णयले आफूलाई गहिरो पीडा दिएको भए पनि अहिलेका लागि यही सही समय भएको उनको भनाइ छ ।

    उनले अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सबैथोक दिएको बताएका छन् । पछिल्ला वर्षमा विश्वकप र अन्य ठूला उपाधि जितेको समय मात्र नभई त्यसअघिका कठिन वर्षमा पनि टोलीका लागि निरन्तर संघर्ष गरेको उनले उल्लेख गरेका छन् ।

    मेसीले अर्जेन्टिनाका समर्थकलाई खुसी र फुटबलमार्फत देशप्रति गर्व गर्ने अवसर दिन आफूले सधैँ प्रयास गरेको बताएका छन् । अब आफ्नो करियरको एउटा महत्वपूर्ण अध्याय अन्त्य हुन लागेको र राष्ट्रिय टोलीका लागि आफूले दिन सक्ने सबै कुरा दिइसकेको उनको भनाइ छ ।

    राष्ट्रिय टोलीमा नयाँ पुस्ताका उत्कृष्ट खेलाडी आइरहेको उल्लेख गर्दै मेसीले उनीहरू राष्ट्रिय टोलीमा रहने योग्य रहेको बताएका छन् । आफू अब बाहिरबाट टोलीलाई समर्थन गर्ने समर्थककै भूमिकामा रहने उनले बताएका छन् ।

    मेसीले आफ्नो परिवार, प्रशिक्षक, सहकर्मी खेलाडी तथा टोलीका पदाधिकारीप्रति पनि आभार व्यक्त गरेका छन् ।

    मेसीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन् । मेसी अन्तर्राष्ट्रिय फुटबलमा क्रिस्टियानो रोनाल्डोपछि धेरै गोल गर्ने दोस्रो खेलाडी हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images