काठमाडौं– भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको चार दिन बितिसक्दा ११ जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना प्राविधिक, कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका अनुसार सम्पर्कविहीनमध्ये ठूलो संख्या जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युत्गृहभित्र फसेको आशंका गरिएको छ ।
माथिल्लो त्रिशूली–१ को सुरुङमा मात्रै करिब ३०० जना र लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङमा २५ जना फसेको जनाइएको छ ।
माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङमा समेत ४२ जना फसेको अनुमान छ । बाढीपछि उद्धारमा ढिलाइ भएको भन्दै निजी क्षेत्रले समयमै दक्ष विदेशी उद्धार टोली परिचालन गर्नुपर्ने बताउँदै आएको छ ।
सरकारले अहिले चीन र भारतबाट आएका सुरुङ उद्धार विज्ञ टोलीलाई समेत परिचालन गरेको छ ।
नेपाली सेना, चिनियाँ तथा भारतीय उद्धारकर्मीसहितको टोलीले माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ र चिलिमे जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार अघि बढाइरहेको छ ।
प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्य जटिल बने पनि सुरुङभित्र फसेकाहरूलाई जीवितै उद्धार गर्ने सम्भावना अझै रहेको अधिकारीहरूले बताएका छन् ।























