काठमाडौं– बाढीका कारण माथिल्लो त्रिशुली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धारको कोसिस भइरहेको छ ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार प्रतिकूल मौसम र रातको अँध्यारोका बीच पनि सो जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको हो ।
अविरल वर्षा र अप्ठ्यारो परिस्थितिबिच प्रभावित क्षेत्रमा नेपाली सेनासहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको अथक प्रयास गरिरहेका छन् । रातको अँध्यारो र प्रतिकूल मौसमका कारण सिर्जित जोखिमलाई पन्छाउन उच्च क्षमताका फ्लडलाइटहरू जडान गरी कार्यस्थलमा काम जारी राखिएको छ ।
घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउनका लागि जेसीबीलगायतका भारी एस्काभेटरहरू निरन्तर प्रयोग गरिएका छन्, जसबाट बाटो खोल्ने र पुरिएका सम्भावित स्थानहरूसम्म पुग्ने कोसिस भइरहेको छ ।
उद्धार टोलीले अत्याधुनिक ‘सर्च क्यामेरा’ तथा विशेष मोनिटर प्रयोग गरी सूक्ष्मरुपमा खोज्ने प्रयास गरिरहेका छन् । प्राविधिक टोलीहरू आपतकालीन उपकरण तथा प्राथमिक उपचार बाकससहित स्थलगत समन्वयमा जुटेका छन् ।























