काठमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको महाशाखाले जनाएको छ ।
हाल देशभर सामान्यतया बदली रहेको छ । बागमती प्रदेशका केही, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।
त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।
आज राति
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।























