images
images
  • विद्युत् प्राधिकरणका कर्मचारी उद्धारमा ढिलाइ किन भइरहेको छ ?

    काठमाडौं– विपद्का कारण सम्पर्कविहीन भएका आफ्ना कर्मचारीको उद्धारमा ढिलाइ भएको विषयमा नेपाल विद्युत् प्राधिकरणले प्रष्टीकरण दिएको छ ।

    प्राधिकरणले कर्मचारीको सुरक्षित उद्धारलाई पहिलो र सर्वोच्च प्राथमिकतामा राखेर निरन्तर प्रयास भइरहेको जनाएको छ ।

    प्राधिकरणले विपद्को कठिन अवस्थामा आफ्ना प्रियजन, साथी तथा सहकर्मी सम्पर्कविहीन हुँदा परिवार र सहकर्मीमा उत्पन्न हुने चिन्ता, बेचैनी तथा आक्रोशलाई आफूहरूले गहिरोसँग बुझेको जनाएको छ । सम्पर्कविहीन प्रत्येक कर्मचारी आफ्नै परिवारको सदस्य भएकाले उनीहरूको अवस्थाप्रति प्राधिकरण पनि उत्तिकै चिन्तित रहेको बताइएको छ ।

    कर्मचारीको उद्धारमा ढिलाइ गर्ने, पन्छिने वा बेवास्ता गर्ने कुनै मनसाय नरहेको प्राधिकरणले स्पष्ट पारेको छ । विपद् आएको क्षणदेखि नै सम्बन्धित टोलीहरू दिनरात नभनी उद्धार, राहत तथा विद्युत् सेवा पुन:स्थापनाको काममा खटिरहेको प्राधिकरणको भनाइ छ ।

    अत्यन्त कठिन भौगोलिक तथा मौसमीय अवस्थाका बाबजुद प्राधिकरणका कर्मचारीहरू आफ्नै ज्यानको जोखिम मोलेर घटनास्थलमा खटिइरहेको जनाइएको छ । सरकार तथा सुरक्षा निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै उपलब्ध साधन, स्रोत तथा जनशक्ति परिचालन गरेर उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

    सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारका लागि सम्भावित सबै मार्ग, उपाय र माध्यमबाट प्रयास भइरहेको प्राधिकरणको भनाइ छ । उद्धारका लागि कुनै पनि सम्भावित प्रयास बाँकी नराखिएको र कर्मचारीको सुरक्षित उद्धार नभएसम्म प्रयास जारी राख्ने प्रतिबद्धता पनि प्राधिकरणले जनाएको छ ।

    आफ्ना साथी वा सहकर्मी सम्पर्कमा नहुँदा प्रश्न उठ्नु, चिन्ता र आक्रोश हुनु स्वाभाविक तथा जायज भएको प्राधिकरणले स्वीकार गरेको छ । तर अहिलेको कठिन अवस्थामा एक–अर्काविरुद्ध उभिनुभन्दा एक–अर्कालाई साथ दिने, हौसला दिने र धैर्य राख्ने समय भएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले सम्पर्कविहीन कर्मचारीहरू आफूहरूबाट अलग नभई आफ्नै साथी, सहकर्मी तथा साझा परिवारका सदस्य भएको उल्लेख गरेको छ । उनीहरूको जीवन र सुरक्षित उद्धारप्रति प्राधिकरण पूर्ण रूपमा संवेदनशील, प्रतिबद्ध र अडिग रहेको जनाएको छ ।

    ‘हामी रोकिएका छैनौँ, हामी थाकेका छैनौँ, हामी पछि हटेका छैनौँ’ भन्दै प्राधिकरणले उद्धार प्रयास निरन्तर भइरहेको स्पष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images