काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सिङ्गो देशलाई शोकमा डुबाइरहेका बेला विश्व खबर मिडियाले पत्रकारिताको दायित्वलाई मानवीय सेवासँग समेत जोडेको छ ।
बाढीका कारण हजारौँ नागरिकले आफन्त गुमाएका छन् । कतिपयले जीवनभरको कमाइ र घरबार गुमाएका छन् भने कैयौँ परिवारको छानो उजाडिएको छ । आमाको काख रित्तिएको छ, बालबालिकाको भविष्य अनिश्चित बनेको छ । यस्तो असह्य पीडाको समयमा समाचार सम्प्रेषण गर्नु मात्र पर्याप्त नहुने भन्दै विश्व खबर मिडियाले पीडितका पक्षमा सहयोगको हात बढाएको हो ।
विश्वखबर मिडियाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आफ्नो तर्फबाट एक लाख रूपैयाँ सहयोग गरेको छ । त्यसैगरी, विश्व खबरमा कार्यरत कर्मचारीहरूले समेत आफ्नो पाँच दिन बराबरको तलब–भत्ता कटाएर थप ५० हजार रूपैयाँ राहत कोषमा जम्मा गरेका छन् । यसरी विश्व खबर मिडिया र त्यसमा कार्यरत कर्मचारीबाट कुल १ लाख ५० हजार रूपैयाँ बुधबारै (बाढी आएकै दिन) राहत कोषमा सहयोग गरिएको हो ।
यो सहयोगको मूल्य केवल रकममा सीमित छैन । यसभित्र विपद्को पीडामा नागरिकसँगै उभिने पत्रकारिता, सामाजिक जिम्मेवारी, संवेदना र मानवताको भावना जोडिएको छ ।
बाढी कसैका लागि केवल समाचार लेख्ने र पढ्ने मात्र हुन सक्छ, तर प्रभावित परिवारका लागि त्यो जीवनभर नमेटिने पीडा हो । यही यथार्थलाई आत्मसात् गर्दै विश्व खबरले देखाएको कदमले पत्रकारिता केवल कलम चलाउने पेशा मात्र नभई सङ्कटका बेला पीडितको हात समात्ने जिम्मेवारी पनि हो भन्ने सन्देश दिन खोजिएको विश्व खबरका अध्यक्ष सञ्जिव कुमार दाहालले बताए ।
विपद्को घडीमा सरकारको प्रयाससँगै सञ्चारमाध्यम, संघ–संस्था, व्यवसायी, कर्मचारी तथा आम नागरिकबाट हुने सहयोगले पीडितको जीवनमा ठूलो अर्थ राख्न उनको भनाइ छ ।
विश्व खबरको अपिल
रसुवा बाढीको विपद्को सामना : तपाईं–हाम्रो साझा दायित्व
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिले हामी सबैलाई मर्माहत बनाएको छ । यस दु:खद् घडीमा बाढीमा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।
घाइते तथा प्रभावित नागरिकको शीघ्र उद्धार, उपचार, राहत तथा सुरक्षित बसोबासको व्यवस्था गर्नु सरकारको पहिलो जिम्मेवारी हो । तर विपद्को सामना कुनै एक व्यक्ति, संस्था वा सरकारको मात्र जिम्मेवारी होइन, यो हामी सबैको साझा दायित्व हो ।
यस्तो कठिन समयमा सम्पूर्ण नेपाली एकजुट भएर उद्धार तथा राहतमा खटिएका सुरक्षा निकाय, स्थानीय तह, कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा अन्य सरोकारवालाको प्रयासमा साथ दिन आवश्यक छ । अहिले आरोप–प्रत्यारोपभन्दा पनि उद्धार, राहत र मानवीय सहयोगलाई प्राथमिकता दिनु नै हाम्रो नागरिक दायित्व हो ।
उद्धार तथा राहत कार्यमा अहोरात्र खटिनुभएका सुरक्षा निकाय, कर्मचारी, स्थानीय तह, स्वास्थ्यकर्मी, स्वयंसेवक, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति विश्वखबर हार्दिक आभार व्यक्त गर्दछ । आगामी दिनमा हुने उद्धार, राहत तथा पुनर्निर्माणका हरेक चरणमा हातेमालो गर्न सम्पूर्ण नेपालीमा हार्दिक आग्रह गर्दछौं ।
सूचनाको सम्प्रेषणमा पनि जिम्मेवारी
विपद्को समयमा सूचना पनि राहतजत्तिकै संवेदनशील हुन्छ । त्यसैले अपुष्ट समाचार, पुराना वा सन्दर्भबाहिरका भिडिओ तथा फोटो, अफवाह र पीडितको गोपनीयता तथा सम्मानमा असर पुग्ने सामग्री सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा जथाभावी प्रसारण नगरौँ ।
आधिकारिक तथा विश्वसनीय स्रोतबाट पुष्टि भएका सूचना मात्र साझा गरौं । विपद्मा परेका नागरिकको पीडा, गोपनीयता, सम्मान र मानवीय संवेदनशीलतालाई सदैव प्राथमिकतामा राखौं ।
मानवीय संवेदना, उद्धारमा सहकार्य र सूचनामा जिम्मेवारी–यही हो हाम्रो साझा दायित्व । आज हामी सबैको सानो सहयोग, संयम र जिम्मेवारीले कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ । कसैको जीवन बचाउन सक्छ ।
विश्वखबरको सामाजिक उत्तरदायित्व
विश्वखबरले पत्रकारिता केवल समाचार सम्प्रेषणमा सीमित नराखी संस्थाको सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो दायित्वका रूपमा निरन्तर आत्मसात् गर्दै आएको छ ।
गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि औषधि खरिदमा विश्वखबरले रू. ३,५०,००० (अक्षरेपी: तीन लाख पचास हजार रूपैयाँ) सहयोग गरेको थियो । त्यसैगरी, आफ्ना कर्मचारीहरूको १५ दिन बराबरको पारिश्रमिकबाट रू. १,००,१०० (अक्षरेपी: एक लाख एक सय रूपैयाँ) सहयोग गरिएको थियो ।
गणेश नेपालीको उपचारलगायत विभिन्न विपद् तथा मानवीय संकटमा समेत विश्वखबरले विगतमा रू. ५५,००० (अक्षरेपी: पचपन्न हजार रूपैयाँ) बराबरको सहयोग गरेको थियो ।
सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिलाई मध्यनजर गर्दै विश्वखबरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू. १,००,००० (अक्षरेपी: एक लाख रूपैयाँ) सहयोग रकम जम्मा गरेको छ । त्यसैगरी, विश्वखबरका कर्मचारीहरूको ७ दिन बराबरको पारिश्रमिकबाट रू. ५०,००० (अक्षरेपी: पचास हजार रूपैयाँ) समेत विपद् प्रभावितका लागि सहयोग गरिएको छ ।
यो सहयोग केवल आर्थिक योगदान मात्र होइन, विपद्मा परेका नागरिकप्रतिको मानवीय ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता हो ।
सहयोगका लागि हार्दिक अपिल
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सम्पूर्ण नागरिक, निजी क्षेत्र, संघ–संस्था, सञ्चारमाध्यम, सामाजिक संस्था तथा देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो क्षमता र सामथ्र्यअनुसार सहयोग गर्न विश्व खबर हार्दिक अपिल गर्दछ ।
आर्थिक सहयोग गर्न चाहनुहुने सबैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक क्यूआरमार्फत रकम जम्मा गरी विपद् प्रभावितको जीवनरक्षामा योगदान गर्न अनुरोध गर्दछौं ।
विपद्को यो कठिन घडीमा सरकारलाई खबरदारी पनि गरौं, सहयोग पनि गरौं । उद्धारमा हातेमालो गरौं, राहतमा साथ दिऔं र सूचनामा जिम्मेवार बनौं ।
रसुवा एक्लैको विपत्ति होइन, यो सरकारको मात्र जिम्मेवारी होईन तपाईं हामी सबैको पीडा हो ।
रसुवाको पुनस्र्थापना पनि हामी सबैको साझा जिम्मेवारी हो ।
विश्वखबर मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं, नेपाल ।























