काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ ।
हाल देशभर सामान्यतया बदली रहेको छ । गण्डकी प्रदेशका केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान तथा मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णालीको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै तथा लुम्बिनीका केही र कर्णाली तथा सुदूरपश्चिमका थोरै हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ । तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षा तथा बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ ।























