काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १३० जना व्यक्ति परिवारको सम्पर्कमा आउन नसकेको पाइएको छ ।
प्रहरीले दिएको सूचना अनुसार रोजगारी, व्यापार, पर्यटन, अन्य काम तथा धार्मिक स्थल भ्रमणका क्रममा रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा पुगेका उनीहरू बाढीपछि परिवारको सम्पर्कमा नआएका हुन् ।
जिल्लागत विवरणअनुसार सोलुखुम्बुका सबैभन्दा धेरै ३८ जना सम्पर्कविहीन छन् । त्यसपछि सुनसरीका १७, मोरङका १४, उदयपुरका १३, ओखलढुंगाका १२, इलामका ९, झापा र खोटाङका ८/८, ताप्लेजुङका ६, संखुवासभाका ३, भोजपुरका १ र धनकुटाका १ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
यस्तै, पाँचथर र तेह्रथुमबाट भने हालसम्म सम्पर्कविहीनको संख्या उल्लेख गरिएको छैन ।
सम्पर्कविहीनमध्ये ८ जनासँग सम्पर्क स्थापित भएको प्रहरीको विवरणमा उल्लेख छ । सुनसरीका २ जना, उदयपुरका ३ जना, ओखलढुंगाका १ जना र सोलुखुम्बुका १ जनासहित विवरणमा उल्लेखित व्यक्तिहरूसँग सम्पर्क भएको जनाइएको छ ।
























