काठमाडौं– लगातारको वर्षा र बाढी–पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ भने केही सडक पूर्णरूपमा अवरुद्ध भएका छन् ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
मकवानपुरको कान्ति लोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रात्रीकालीन आवागमन बन्द गरिएको छ । नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेकका सवारी राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।
यसैगरी, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक र रुकुम पश्चिमको भेरी करिडोर पहिरो तथा नदी कटानका कारण पूर्णरूपमा अवरुद्ध भएका छन् । रोल्पाको शहीद राजमार्गसमेत पहिरोका कारण बन्द भएको छ ।
रसुवामा आएको बाढीका कारण पृथ्वी राजमार्ग, गल्छी–स्याफ्रुबेंसी तथा मुग्लिन–नारायणगढ सडक आसपासका क्षेत्रमा समेत आवागमन रोकिएको जनाइएको छ ।
धादिङतर्फ पृथ्वी राजमार्गका ज्वाङखोला, बिहानी पम्प, गलौदी, जहरेखेत–बाङ्गेमोड र बैरेनी क्षेत्रमा बाढी तथा लेदोका कारण सडक अवरुद्ध भएको छ । केही स्थानमा लेदो हटाउने कार्य भइरहेको छ भने केही स्थानमा उद्धार तथा सडक खुलाउने मेसिनसमेत पुग्न सकेका छैनन् ।
हेर्नुहोस् अद्यावधिक विवरणहरू–

























