काठमाडौं– राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घ नेपालले पूर्वनिर्धारित गाईजात्रा पर्व २०८३ स्थगित भएको जनाएको छ ।
रसुवामा अकस्मात् गएको बाढीका कारण राष्ट्रिय सङ्कट निम्तिएको भन्दै महासङ्घले भदौ १३ गते आयोजना हुने भनिएको ‘गाईजात्रा २०८३’ कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जानकारी गराएको हो ।
यस कठिन समयमा उत्सवभन्दा मानवीय संवेदना, पीडित परिवारप्रतिको ऐक्यबद्धता र राष्ट्रिय शोकप्रति सम्मान गर्नु हाम्रो साझा जिम्मेवारी हो, महासङ्घले निकालेको विज्ञप्तिमा लेखिएको छ ।
महासङ्घले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइते एवम् प्रभावित सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
नयाँ मिति तथा कार्यक्रमसम्बन्धी जानकारी परिस्थितिअनुकूल समयमा सार्वजनिक गरिने मायाको पहिचान नेपालको ब्रेकिङ ब्यारियर्स परियोजनामा कार्यरत बागमती प्रदेश समन्वय अधिकारी बाबु दुमी राईले बताए ।























