मकवानपुर । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी सहायक हवल्दार स्व. असिम श्रेष्ठको घरमा पुगी उनका परिवारसँग भेटघाट गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव तथा बाहिनी मातहत कार्यालयहरुको अनुगमनको क्रममा महानिरीक्षक पौडेलले स्व. श्रेष्ठको परिवारजनसँग भेटघाट गरेका हुन् ।
भेटघाटको क्रममा महानिरीक्षक पौडेलले सहिद परिवारका सदस्यहरुको सुख दु:खमा सङ्गठनको सदैव साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
उनले सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरुले नजिकै रहेका सहिद परिवारका सदस्यहरुसँग समय–समयमा सम्पर्क गरी उनीहरुका गुनासो तथा समस्या समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
बीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको रगत र पसिनाले गर्दा संगठन आज यो अवस्थामा आई पुगेको उल्लेख गर्दै महानिरीक्षक पौडेलले भने, ‘हाम्रा परिवारको सदस्यले कर्तव्य पालनाको सिलसिलामा बीरगति प्राप्त गरेपनि संगठनले हाम्रो लागि काम गर्नेछ भन्ने भावना राख्नुहोला ।’
सशस्त्र प्रहरी सहायक हवल्दार स्व.असिम श्रेष्ठको तत्कालीन माओवादी विद्रोहीहरुको भिडन्तमा बहादुरीपूर्वक लड्दा लड्दै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा २०५९ साल भदौ २४ गते वीरगती प्राप्त गरेका थिए ।























