काठमाडौं– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले देशका अधिकांश भागमा बदली हुनुका साथै वर्षा भइरहेको छ ।
आजको मौसम स्थिति र सम्भावना
हालको अवस्था: देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो: हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । बागमती, गण्डकी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेश, कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मध्यम वर्षा हुन सक्छ ।
राति: कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा र बाँकी प्रदेशका हिमाली भेगका थोरै स्थानमा वर्षा वा हिमपातको सम्भावना छ । पहाडी र तराईका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षा हुने अनुमान छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, रातिको समयमा कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भू–भाग र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।























