काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले देशभर मनसुनी गतिविधि सक्रिय छ ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसोको मौसम
पहाडी तथा हिमाली भू–भाग: केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
तराई भू–भाग: बागमती, गण्डकी र लुम्बिनीका केही स्थानका साथै मधेश, कोशी र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा हुनसक्छ ।
भारी वर्षाको जोखिम: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज रातिको मौसम
हिमाली क्षेत्र: कोशी, बागमती र गण्डकीका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।
पहाडी तथा तराई क्षेत्र: कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ । तराईका अधिकांश भागमा पनि वर्षाको सम्भावना छ ।
भारी वर्षाको जोखिम: राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाले भारी वर्षा र चट्याङ्गको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।























