काठमाडौं– चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको महत्त्वाकाङ्क्षी अभियान सम्हालेका चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ पुन: निराश हुँदै अमेरिका फर्किएका छन् ।
देशमा नयाँ सरकार बनेसँगै रङ्गशाला निर्माणको अल्झिएको गाँठो फुक्ने र न्याय पाइने आशा बोकेर छोरीसहित नेपाल फर्किएका कट्टेल दुई महिनाको निरन्तर दौडधुपपछि पनि खाली हात फर्कन बाध्य भएका हुन् ।
नेपाल बसाइका क्रममा राज्यका विभिन्न निकाय र ढोकाहरू धाउँदा पनि आफ्नो कुरा कसैले नसुनेको गुनासो उनले गरेका छन् । १८ करोड ४३ लाख रुपैयाँको ऋणको भारी र अधुरा सपना बोकेर मातृभूमि छाड्नुपरेको पीडा सामाजिक सञ्जालमा पोख्दै उनले आफ्नै देशमा इमानदारीपूर्वक काम गर्न खोज्दा आवाज बेवारिसे बनेको अनुभूति भएको बताएका छन् ।
धुर्मुसले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो पटक त १००% न्याय पाउनेछौँ, आफ्नै माटोमा दु:ख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठूलो सपना बोकेर मातृभूमि फर्किएको थिएँ । दुई महिना अथक प्रयास गरेँ, राज्यका ढोका–ढोका पुगेँ । तर न राज्यले मेरो आवाज सुन्यो, न त पीडा पोख्ने अवसर नै पाएँ ।’
उनका अनुसार समस्या समाधान हुनुको साटो उल्टै रङ्गशालाका लागि विनियोजन भएको १५ करोड रुपैयाँ बजेटसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्थामा पुगेको छ । १० वर्ष आफ्नो उर्वर समय राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट निराशा मात्र हात लागेको उनको भनाइ छ ।
भविष्यमा समयले सत्य बोल्ने र आफ्नो सङ्घर्षको मूल्य बुझिने आशा व्यक्त गर्दै धुर्मुसले भनेका छन्, ‘मन निकै भारी भएको छ, आँखा रसाएका छन् । तर हृदयको कुनै कुनामा आशा अझै बाँकी छ । कुनै दिन राज्यले सम्झिनेछ र देशभक्तिको कदर हुनेछ ।’
रङ्गशाला निर्माणका क्रममा ऋणको भार र चौतर्फी विवादमा तानिएपछि उनी केही समयअघि अमेरिका गएका थिए । न्याय पाउने अन्तिम आशा बोकेर स्वदेश फर्किएका कलाकार धुर्मुस अन्तत: निराशा र रोदनका साथ पुन: विदेशिन बाध्य भएका छन् ।
























