काठमाडौं– उच्च अदालत पाटनले पत्रकार किशोर श्रेष्ठलाई धरपकड र पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरलाई प्रतिवादी बनाएर श्रेष्ठले दायर गरेको निवेदनमा न्यायाधीश अच्युत कोइरालाको इजलासले बुधबार यस्तो आदेश जारी गरेको हो ।
प्रकाशित समाचारका विषयमा प्रेस काउन्सिलमा परेको उजुरी कारबाहीयुक्त अवस्थामा रहेको तथा सर्वोच्च अदालतबाट भदौ १ गते आदेश भएको उल्लेख गर्दै उच्च अदालतले श्रेष्ठलाई धरपकड गर्ने, पक्राउ गर्ने र थुनामा राख्ने कार्य नगर्न अन्तरिम आदेश दिएको छ ।
उच्च अदालतले आदेशमा भनेको छ, ‘प्रकाशित समाचारका विषयमा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकलाई धरपकड गर्ने, पक्राउ गर्ने, थुनामा राखे लगायतका कार्य नगर्नू, नगराउनू भनी विपक्षीका नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम प्रत्यर्थीहरूका नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’























