images
images
  • सांसदहरूको बेलगाम व्यवहार र मन्त्रीसँगको किचलोपछि एक्सनमा उत्रिए सभापति लामिछाने

    काठमाडौं– प्रतिनिधिसभामा पार्टीका सांसद र आफ्नै मन्त्रीहरूबीच लगातार असमझदारी र तनाव बढ्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफल तथा समीक्षामा जुटेको छ ।

    संसद्भित्र बढ्दो अशान्ति र अनुशासनहीनतालाई नियन्त्रण गर्न रास्वपाले आज बुधबार मन्त्री र सांसदहरूलाई एकैठाउँ राखेर अन्तक्र्रिया आयोजना गर्ने भएको छ ।

    संसदीय दलको कार्यालयमा बिहान ११ बजे बस्ने उक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले सांसद र मन्त्रीहरूलाई संसदीय मर्यादा, अनुशासन र जिम्मेवारीबारे विशेष निर्देशन दिने कार्यक्रम रहेको बताइएको छ ।

    पछिल्लो समय सरकारमा रहेका मन्त्री र संसदीय दलका सदस्यहरूबीच समन्वयको अभाव देखिएको छ । साथै, केही सांसदहरूले संसद्मा बोल्ने भाषा र सार्वजनिक गतिविधिमा संयम नअपनाउँदा पार्टीको छविमा प्रश्न उठेकाले त्यस्ता सांसदहरूलाई सचेत गराइने भएको छ ।

    मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालको जवाफप्रति असन्तुष्टि जनाउँदै रास्वपाकी सांसद आशिका तामाङले पुन: प्रश्न उठाउन खोजेकी थिइन् । तर, सभामुख डीपी अर्यालले उनलाई संसदीय मर्यादा र गरिमा कायम राख्न सचेत गराउँदै थप बोल्न समय दिएनन् । सभामुखको निर्णयबाट असन्तुष्ट बनेकी सांसद तामाङ त्यसपछि संसद् बैठक नै छाडेर बाहिरिएकी थिइन् ।

    आफ्नै पार्टीका सभामुख, मन्त्री र सांसदहरूबीच संसद्मै तालमेल नमिल्दा पार्टीभित्र खैलाबैला मच्चिएपछि रास्वपाले यो विषयलाई गम्भीरताका साथ लिँदै समीक्षा बैठक बोलाएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images