images
images
  • डीएलए नेपालको महासचिवमा अधिवक्ता रवीन्द्र प्रधानको दाबी

    भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा भक्तपुरका अधिवक्ता रवीन्द्र प्रधानले महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

    नेपाल ल क्याम्पसमा २०४३ सालमा इकाइ कमिटी सदस्यबाट विद्यार्थी राजनीति सुरु गरेका प्रधान लामो समयदेखि नेपाली कांग्रेस तथा कानुन व्यवसायीको क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

    डीएलए नेपालको भदौ १९ र २० गते बुटवलमा हुने राष्ट्रिय महाधिवेशनका लागि उनलाई भक्तपुरबाट महासचिव पदको सर्वसम्मत उम्मेदवारका रूपमा चयन गरिएको छ ।

    प्रधानले भक्तपुर नगरपालिकाको नगर सभापतिको जिम्मेवारी दुई कार्यकाल सम्हालिसकेका छन् । २०६२/६३ को जनआन्दोलनका क्रममा उनी भक्तपुर नगर स्टेरिङ कमिटीका संयोजकसमेत थिए ।

    त्यस्तै, भक्तपुर जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षका रूपमा दुई कार्यकाल नेतृत्व गरिसकेका प्रधान हाल नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिका प्रवक्ताका रूपमा सक्रिय छन् ।

    कानुन व्यवसायसँगै संगठन र राजनीतिक क्षेत्रमा लामो अनुभव हासिल गरेका प्रधानले डीएलए नेपालको केन्द्रीय नेतृत्वमा रहेर कानून व्यवसायीका पेशागत हकहित, न्यायपालिकाको स्वतन्त्रता तथा विधिको शासनका पक्षमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन् ।

    ‘लामो समयदेखि कानुन व्यवसाय र लोकतान्त्रिक आन्दोलनसँग जोडिएर काम गर्दै आएको छु । संगठनलाई थप सुदृढ, गतिशील र कानून व्यवसायीको पेशागत हितका विषयमा प्रभावकारी बनाउन महासचिवको जिम्मेवारी सम्हाल्न तयार छु,’ प्रधानले बताए ।

    डेमोक्रेटिक लयर्स एसोसिएसन नेपाल लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा कानून व्यवसायीको पेशागत हकहितका विषयमा सक्रिय रहँदै आएको संगठन हो ।

    बुटवलमा भदौ १९ र २० गते आयोजना हुने राष्ट्रिय महाधिवेशनले डीएलए नेपालको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशासमेत तय गर्नेछ । प्रधानको उम्मेदवारीसँगै डीएलए नेपालको महासचिव पदको नेतृत्व चयनलाई विशेष चासोका साथ हेरिएको छ । –सन्जिब दुलालबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images