काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आन्दोलन विरोधी र देशद्रोही भन्दै उनलाई कुनै ठाउँ नरहेको उद्घोष गरेका छन्।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार राजधानीमा सम्बोधनका क्रममा ओलीले अखिल फोर्सको राष्ट्रिय भेलामा नेता नेपाल सहभागी हुँदै गर्दा यस्तो बताएका हुन्। ओलीले नेता नेपाललाई कम्युनिष्ट आन्दोलन विरोधी र देशद्रोहीको संज्ञा दिए।
ओलीले भने,‘माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन,’ एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने ।’
ओलीले जनताको सरकार ढलेर दक्षिणपन्थीको पार्टी बनेको भन्दै प्रतियिक्रयावादीहरुसँग लागेर माधव नेपालले एमालेको सरकार ढालेको आरोप लगाए। ओलीले भने, ‘लगभग दुई तिहाइको स्थितिलाई बहुमतमा पुर्याए । प्रतिक्रियावादीहरूसँग मिलेर एमाले सरकार ढाले । एमाले सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर संविधानको रक्षा गर्यौं भनेका छन् ।’
उनले आगामी चुनावमा एमालेले दुईतिहाइ ल्याउने डरले आफूलाई प्रधानमन्त्रीबाट हटाइएको पनि बताए। ‘आउँदो चुनावमा एमालेले दुईतिहाइ ल्याएर देखाउँछ। त्यही डरका कारण मलाई प्रधानमन्त्रीबाट हटाएका हुन्’, उनले भने, ‘अहिले जता पनि एमाले छ, ठाउँ ठाउँमा छ एमाले छ। त्यसैले हामी निराश हुनुपर्ने कुनै कारण छैन।’
पार्टीको सरकार ढल्दा अग्रहमणको सपनामा धक्का लागेको उनको भनाइ छ। ‘पार्टीको सरकार ढल्यो, जनताको सरकार ढल्यो, दक्षिणपन्थीको सरकार बन्यो,’ ओलीको भनाइ छ, ‘सुशासन र अग्रमणको सपनामा धक्का लाग्यो।
ओलीले एमाले फेरि एक पटक उठ्ने बताउँदै कार्यकर्ताहरुलाई निराश नभइ अभियानमा होमिन पनि आग्रह गरे।
आउँदो चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी पनि ओलीले गरे।


विश्व खबर 


















