काठमाडौं– सल्यानमा भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।
छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१ बाङ्गिरह नजिक लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा रहेको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा जिप चालक र जिप धनी नदीमा बेपत्ता भएको सल्यानका प्रहरी प्रमुख डीएसपी दीपक पातलीले जानकारी दिए। उनीहरूको पहिचान अझै खुल्न सकेको छैन।
बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, अन्य सुरक्षाकर्मी र स्थानीयवासी परिचालन गरिएको छ।
दुर्घटनामा वनगाड कुपिण्डे नगरपालिका–१ आँपखोलीका २९ वर्षीय प्रेम बिक र २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन्। प्रहरीका अनुसार दुवैको अवस्था सामान्य रहेको छ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको डीएसपी पातलीले बताए।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।




















