images
images
  • बाढी–पहिरोका कारण कुन–कुन राजमार्ग अवरुद्ध छन् ? (पूर्ण विवरण)

    काठमाडौं– देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण बाढी तथा पहिरो जाँदा प्रमुख राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन् ।

    केही सडकमा यातायात पूर्ण रूपमा रोकिएको छ भने केहीमा रातिको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

    बाढी तथा पहिरोका कारण सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु सडकखण्ड तथा रुकुम पश्चिमको भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो, वडा नं. २ कोदारी र लिपिङ क्षेत्रमा पहिरो तथा सडक भासिँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । यस्तै, इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलो भएपछि मेची राजमार्गमा यातायात ठप्प भएको छ ।

    रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा पहिरोसहित लेदो खसेपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    यसैबीच, सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोकिएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन हुने जनाइएको छ ।

    त्यस्तै, वर्षाका कारण मकवानपुरको कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

    वर्षाका कारण सडकमा थप क्षति तथा जोखिम बढ्न सक्ने भएकाले यात्रुलाई मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

    हेर्नुहोस् पूरा विवरण–

    772713230 1355985026682147 298898813147994031 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images