‘हेर्दाहेर्दै एक्कासी एसएसबीले तुुइनको डोरी काटेपछि मामालाई निरीह भएर त्यो कारुणिक दृष्य हेर्न विवश भयौं’
शुक्रबार बिहान घरबाट काठमाडौंका लागि हिँड्दा दार्चुलाको व्याँस गाउँपालिका– २ मालगाउँका जयसिंह धामीले छोराछोरीलाई गौरापर्वका लागि राम्राराम्रा लुगा ल्याइदिने आश्वासन दिएका थिए । डेढ वर्षकी छोरीले मेसो नपाएपनि करिब सात वर्षका छोरा भने-बुबाको कुराले फुरुंग भएका थिए । सुदूरपश्चिममा भव्य रूपमा मनाइने गौरापर्व आगामी भदौको मध्यमा छ ।
बिहान करिब सात बजे पत्नी राजन्तीसँग बिदा भएपछि जयसिंह हतारहतार सदरमुकाम खलंगाका लागि हिँडेका थिए, त्यहाँबाट काठमाडौं जाने उनको योजना थियो । उनको अघिअघि गाउँकै ७० वर्षीय गौरसिंह धामीसहित तीनजनाको टोली थियो । उनीहरू पनि सदरमुकाम जाँदै थिए । गौरसिंह सामाजिक सुरक्षा भत्ता लिन खलंगा हिँडेका थिए । जयसिंहको पछिपछि पनि गाउँकै विक्रम रंकोली र अमिता धामी थिए ।
करिब आधा घन्टा हिँडेपछि उनीहरू महाकाली नदीमा लगाइएको तुइननजिक पुगे । सदरमुकाम खलंगा जान स्थानीय बासिन्दा मालघाटमा तुइनबाट महाकाली तर्छन् र भारतपट्टिबाट गाडीमा धारचुलासम्म पुग्छन् । तुइन भएको ठाउँको पारिपट्टि भारतको पाँगला गाउँ छ, जहाँ भारतीय अर्धसैनिक बल एसएसबीको ब्यारेक छ ।
महाकाली नदीमा तुुइनमार्फत व्याँसबासीलाई ओहोरदोहोरा गराउन थालेको २१ वर्ष पुगिसक्यो । म प्रायजसो बिहान ७ बजे घरबाट निस्कन्छुु र साँझ अबेरमात्रै घर फर्किन्छु । शुुक्रबार बिहान करिब सवा ७ बजेको हुँदो हो । खाजा खाएर मालघाटमा तुुइन भएको ठाउँमा पुग्दा चार जनाको समूूह मलाई कुरिरहेको थियो । व्याँसकै गौरसिंह धामी, अमरसिंह धामी, मनिराम धामी र बहादुरसिंह धामी सदरमुुकाम खलंगा आउने प्रतीक्षामा थिए ।
मैले सुरुमा उनीरुलाई तारेँ । उनीहरु पछि जयसिंह धामी, बिक्रम रंगोली र अनिता धामी तुइनको प्रतीक्षामा थिए । जयसिंह नातामा मेरो मामा पर्छन् । म जयसिंह धामीलाई तुुइनबाट तारिरहेको थिएँ । सो क्रममा पारीपट्टीबाट दौडेर दुुई जना एसएसबी आउँदै गरेको देखेँ ।
मामा (जयसिंह) नदीको बीच भागमा पुगेका मात्र के थिए, माथिबाट नदीको किनारमा पुुगेको एक जना एसएसबीले घाटमै आएर रुखमा बाँधेको तुुइनको डोरी निकाल्न थाल्यो । मैले मान्छे छ डोरी ननिकाल्नुुस् भनेर इसारा गरेँ, तर उनीहरुले बेवास्ता गरे । मामा (जयसिंह) पारीपट्टी पुुग्नै लागेका बेला एसएसबीले डोरी निकालेपछि लछारिएर उहाँ महाकालीको भेलमा खस्नुुभयो । डोरी निकालेपछि एसएसबी भागिहाल्यो । करिब ३० सेकेण्डसम्म मामाले नदीमा टाउको देखाउँदै हुनुुहुुन्थ्यो । हामीले इसाराले छेउतिर जानुुस् भन्दै थियौँ तर नदीको भेलले उहाँलाई एकछिनमै लिएर गयो ।
हामी निरीह भएर त्यो कारुणिक दृष्य हेर्न विवश भयौं । एसएसबीले हामीलाई गाली गर्ने, कुुटपिट गर्ने, धम्क्याउने काम वषौँदेखि गरिरहेकै थियो । २१ वर्षको अवधिमा पहिलो पटक एसएसबीले कल्पना नै नगरेको अमानवीय घटना हामीमाथि घटाएको छ । एक हप्ता अगाडि पनि एसएसबीले तुुइन निकालेको थियो तर शुुक्रबारको जस्तो अमानवीय व्यवहार देखाएको थिएन । मामाले रोजगारीको खोजीमा काठमाडौँ जादैछुु भाञ्जा भन्नुुभएको थियो तर एसएबसीका कारण भाइबहिनी टुुहुरा भए ।
गौरसिंहसहितको टोली सुरुमा तुइन तर्यो । उनीहरूपछि तुइन चढेका जयसिंह पारि पुग्न पाएनन्, करिब डेढ मिटर बाँकी हुँदै एसएसबीका जवानहरूले तुइनको डोरी काटिदिएपछि उनी उर्लिरहेको महाकाली नदीमा खसे र बेपत्ता भए । ‘हामी तुइन तरेर पाँच–सातमिनेट मात्रै उकालो हिँडेका थियौँ, एसएसबीका दुई जवानले तीनपाने तुइनको डोरी काटिदिए,’ गौरसिंहले भने, ‘जयसिंह भारततर्फ पुग्न एक–ढेढ मिटर मात्रै बाँकी थियो, तुइन चुँडिएपछि महाकालीमा डुबे ।’ ‘आँखैअगाडि जयसिंह महाकालीमा डुबे । दुई मिनेटसम्म बग्दै गरेको देखेँ, त्यसपछि डुबाइहाल्यो,’ उनले भने ।
यसअघि पनि एसएसबीले वेलावेला तुइन काटेर दुःख दिने गरेको थियो । तर, यसपटक मान्छे तुइनमै रहेका वेला काट्यो । आफूहरूले पारि पुग्दा तुइन काट्ने तयारी गरिरहेका एसएसबीका जवानलाई ‘मान्छे आउँदै छन्, नकाट्नुस्’ भनेर आग्रहसमेत गरेको गौरसिंहले बताए । ‘कि त तुइनमा मान्छे नभएको वेला काटेको भए हुन्थ्यो कि तुइन तर्न दिएर काटेको भए पनि हुन्थ्यो । एक मिनेट मात्रै नकाटेको भए जयसिंह महाकालीमा बेपत्ता हुने थिएनन्,’ उनले भने । सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले जयसिंहको खोजी गरिरहेका छन् । तर फेला परेका छैनन् ।
आर्थिक रूपमा विपन्न परिवारका जयसिंहले सुरुमा सेनामा जागिर खाएका थिए । तर, बीचमै छाडे । पछि ऋण काढेर वैदेशिक रोजगारीका लागि कतार गए । त्यहाँ पनि धेरै बस्न सकेनन् । फर्किएपछि फेरि दुबई गए, त्यहाँ पनि भनेजस्तो काम नपाएपछि स्वदेश फर्किए । उनका आफन्तहरूका अनुसार विदेश जाँदा लागेको ऋणपनि तिर्न सकेका थिएनन् । दुबईबाट फर्केपछि केही समय काठमाडौंमै सेक्युरिटी गार्डको जागिर पनि गरेका थिए । जयसिंहले गत वैशाख–जेठमा यार्सागुम्बा संकलन गरेर ३५–४० हजार आम्दानी गरेका थिए ।
यसपटकपनि काठमाडौंमा सके जागिर खोज्ने नभए गाउँमै फर्किएर सानोतिनो व्यापार गर्ने योजना थियो जयसिंहको । त्यसका लागि बैंकबाट ऋण निकाल्ने सोच बनाएको छिमेकीहरूलाई सुनाएका थिए । ‘गाउँको उब्जनीले तीन महिना पनि खान पुग्दैन । कहिले कता कहिले कता रोजगारी गरेर परिवार धानिरहेको थियो,’ स्थानीय बहादुरसिंह धामीले भने, ‘घरको कमाउने मान्छे नै बेपत्ता भएपछि परिवार झनै समस्यामा पर्यो ।’
हामीमाथि भारतीय ज्यादती कहिलेसम्म ? महाकाली नदीमा पुुल नबन्दा हामी व्याँसबासीले यसरी नै अकालमै मृत्युुवरण कहिलेसम्म गर्नुुपर्ने हो रु पुुल निर्माणका लागि वषौँदेखि दबाब दिदै आयौँ । शिलान्यास भएको तीन वर्ष बितिसक्यो अहिलेसम्म काम अधुरै छ । ठेकेदारले अलपत्र पारेका छन् । अब सरकारले चाडै पुुल निर्माण गरिदिनुुप¥यो । हिजोको घटनाका कारण आजदेखि मैले पनि नदीमा तुुइन लगाउन छोडिदिए । पुुल छिटो निर्माण गरिदिनुुप¥यो भन्ने हाम्रो माग छ ।


विश्व खबर 


















