काठमाडौं– प्रतिनिधिसभा बैठक आज बस्दैछ ।
अपराह्न १ बजे बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।
संघीय संसद् सचिवालयका अनुसार ‘कर्मचारी सञ्चय कोष (दसौं संशोधन) विधेयक, २०८३’, ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ र ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने तयारी छ ।
त्यस्तै, प्रधानमन्त्री साहको तर्फबाट कानुनमन्त्री सोविता गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछिन् ।
आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची पनि छ ।
यस्तै, आजै विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ ।























