वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकखण्डस्थित आईसीपी जाँचपास गरी नेपाल प्रवेश गरेको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनाधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले ट्याङ्करसहित पक्राउ गरेको छ ।
बिहीबार साँझ वीरगञ्ज–१४ स्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करमा जडान गरिएको सिल फलामको पाइपको हुक प्रयोग गरी उचालेर अवैध रूपमा तेल निकालिरहेको अवस्थामा उनीहरूलाई रंगेहात फेला पारिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पेट्रोल पम्प सञ्चालक सुनैन मियाँ (५५), पम्पमा लेखाको काम गर्ने असलम हवारी (२३), क्यासियर रफिक मियाँ (२१), ना.७ ख २८०४ नम्बरको ट्याङ्करका चालक केशर राम सुनार (४६) र सहचालक सन्देश राना मगर (२०) तथा ना.७ ख १५३९ नम्बरको ट्याङ्करका चालक मन्द सिंह लामा (५०) र सहचालक उमेश राना मगर (२७) रहेका छन् ।
प्रहरीले घटनामा प्रयोग भएका ट्याङ्करसहित आवश्यक सामग्री नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























