images
images
  • एमसीसी कार्यान्वयन सम्झौता संसदमा पेश गर्न भीम रावलको माग

    काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेका छन् ।

    प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समयमा लिएर बोल्दै सांसद रावलले एमसीसी सम्झौता संसदबाट अनुमादन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम शुरु भइसकेको बताए ।

    तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलमा रहेका एमसीसीसँग जोडिएका थुप्रै सम्झौता हेरेको तर, कार्यान्वयन सम्बन्धी सम्झौता हुन नपाएको भन्दै उनले भने, ‘मूल सम्झौतासँगै भएका सबै सम्झौता यहाँ पेश गरियोस् ।

    एमसीसीसँगै भएका अन्य सम्झौता पनि सार्वजनिक होस्,’ रावलले भने, ‘त्यो जनताले थाहा पाउनुपर्छ । एमसीसीमा रहेको देशहितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए त्यो राष्ट्रघात हुनेछ ।’

    उनले कुनै सामरिक कुरासँग जोडिएर एमसीसी आए स्वीकार गर्न नसकिने बताए । ‘यसमा रहेका प्रावधान हटाएर, संशोधन गरेर अनुमोदन गर्नुपर्छ,’ उनले भने, ‘त्यो कुनै सामरिक कुरासँग जोडिएर आउनु हुँदैन ।’

    उनले अघि भने, ‘त्यहाँ भएका स्वाधीनता, राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीति विपरीतका प्रावधानहरु परिवर्तन नभई यदि सम्झौता गरिए राष्ट्रघात हुनेछ ।’

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images