काठमाडौं– जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जानकारी दिएको छ ।
हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान तथा गण्डकी प्रेदशको पहाडी भूभागको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको बताइएको छ । मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भू–भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।























