काठमाडौं-मधेश प्रदेशका विभिन्न जिल्लामा दुई समूहबीच झडप, हुलदंगा र तनाव बढ्न थालेपछि स्थानीय प्रशासनले कडा सुरक्षा व्यवस्था लागू गरेको छ। धनुषा र सिरहाका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।
सुनसरीको देवानगञ्जमा भएको घटनापछि बिभिन्न जिल्लामा प्रदर्शन हुन चर्किएपछि बिहीबार सुनसरी, धनुषा र सिरहामा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
धनुषामा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार दिउँसो ३ः३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले जानकारी दिएका छन्। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम जारी आदेशअनुसार कर्फ्यु क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, सभा, प्रदर्शन र घेराउ पूर्ण रूपमा निषेध गरिएको छ।
प्रशासनले लक्ष्मीनिया हाटबजार चोकदेखि सिनुरजोडा चोक, लक्ष्मीपुर बगेवास, बेलौनी रोड, नगराईन चोक, सोहनी, मणिमण्डप, इस्कोन जनकपुर, दुधमती पुल, बेला र कादरी मस्जिद आसपासका क्षेत्रलाई कर्फ्यु क्षेत्र तोकेको छ।
यस्तै, सिरहामा पनि आन्दोलन र हुलदंगाका कारण शान्ति भंग हुन सक्ने भन्दै बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि चोहर्वा चौक, सैनिक चौक र बहुमुखी क्याम्पस वरिपरिको क्षेत्र कर्फ्यु क्षेत्रमा परेको छ।
दुवै जिल्लामा प्रशासनले कर्फ्यु आदेशको उल्लंघन गर्ने तथा कानून विपरीत गतिविधिमा संलग्न हुने व्यक्तिलाई प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै नागरिकलाई घरभित्र सुरक्षित रहन र शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न आग्रह गरिएको छ।
मधेशका केही क्षेत्रमा स्थिति तनावपूर्ण रहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षा उपस्थिति बढाइएको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा निषेधाज्ञा जारी गरेको छ ।जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बिहीबार साँझ ५ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । वीरगञ्ज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाले ३ वटा पालिकामा कर्फ्यु आदेश जारी गरेको छ ।जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकामा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।
बिहीबार दिउँसो ३:३० बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ ।सुनसरी घटनालाई लिएर जनकपुर र आसपासको क्षेत्रमा बिहीबार बिहानैदेखि प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश जारी गरेको हो ।
कर्फ्यु आदेश जारी भएका स्थान
उत्तर-लक्ष्मीनिया हाटबजार चोक (लक्ष्मीनिया-७) हुँदै पश्चिम सिनुरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुर बगेवासम्म ।
पुर्व-बेलौनी रोड-एम.क्यू. स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म ।
दक्षिण-नगराईन नगरपालिकादेखि नगराईन चोकसम्म ।
पश्चिम-सिनुरजोडा-सोहनी-मनिमण्डप-नेपाल नर्सरी-इस्कोन जनकपुर-दुधमती पुल, बेला, कादरी मस्जिद ।
सिरहाको लहान नगरपालिकामा पनि कर्फ्यु जारी भएको छ । बिहीबार दिउँसो २ जना युवकलाई गोली लागेपछि प्रदर्शन झन चर्किएको हो । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कर्फ्यु जारी गरेका हुन् । बिहीबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी भएको छ ।
लहान नगरपालिकाको पूर्व-पश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वती खोलासम्म, उत्तरतर्फ खुट्टीखोलासम्म, दक्षिणतर्फ पूर्व-पश्चिम राजमार्ग ५ सय मिटर क्षेत्रसम्म कर्फ्यु जारी गरिएको हो ।
यसअघि सिरहाको गोलबजार क्षेत्रमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
पूर्व-पश्चिम राजमार्गको गोलबजार नगरपालिका-३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म, उत्तरतर्फ वडा ६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा ४ को क्याम्पस वरिपरिको क्षेत्रमा कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ ।
धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । प्रमुख जिल्ला प्रेम प्रसाद लुइँटेलले बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी भएको बताए ।























