काठमाडौं– गणेश नेपालीको आत्मदाह प्रकरणमा सरकारले काठमाडौं महानगरपालिकालाई जिम्मेवार बनाउन खोजेको आरोप लागेको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र नगर प्रहरी प्रमुख विष्णु जोशीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा करिब ६ घन्टा रोकेर राखिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री सचिवालय र काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत कार्यवाहक मेयर सुनीता डंगोललाई पीडित परिवारलाई क्षतिपूर्ति दिने निर्णयमा हस्ताक्षर गर्न दबाब दिइएको थियो ।
तर डंगोलले राज्यले दिनुपर्ने क्षतिपूर्तिको जिम्मा महानगरले लिन नसक्ने भन्दै अस्वीकार गरेकी थिइन् ।
गृहमन्त्री सुधन गुरुङले संसदमा आत्मदाह घटनामा नगर प्रहरीको भूमिकाको उल्लेख गरेकै दिन महानगरका अधिकारीलाई प्रहरी परिसरमा राखिएको घटनाले सरकार महानगरतर्फ जिम्मेवारी सार्न खोजेको आशंका बढेको छ ।
यद्यपि महानगरले घटनाको निष्पक्ष छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पीडित परिवारलाई मानवीय सहयोग, रोजगारी र सन्तानको निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरेको छ ।


विश्व खबर 


















