काठमाडौं– एकातिर संयुक्त राज्य अमेरिकाले नेपालमा रहेका तिब्बती शरणार्थीहरूको मानवअधिकार संरक्षणलाई लिएर कडा चेतावनी दिएको छ भने अर्कोतर्फ चीनले नेपाल आफ्नो सुरक्षासम्बन्धी संवेदनशीलताप्रति अझ स्पष्ट र दृढ हुने अपेक्षा राखिरहेको देखिन्छ ।
यिनै दुई महाशक्तिको दबाब र चासोबीच प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले तिब्बत मामिलामा नेपालको परम्परागत ‘एक चीन नीति’लाई निरन्तरता दिने स्पष्ट संकेत गरेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालको हालै सम्पन्न चीन भ्रमणपछि सार्वजनिक भएका अभिव्यक्ति र कूटनीतिक सन्देशहरूले नेपालले चिनियाँ सुरक्षा चासोलाई सम्बोधन गर्न तयार रहेको सन्देश दिएको छ ।
यहीबीच दलाई लामाको ९१औँ जन्मदिनका अवसरमा काठमाडौंमा भएका कार्यक्रम, त्यस क्रममा अपनाइएको सुरक्षा सतर्कता तथा अमेरिकी कूटनीतिक सक्रियताले तिब्बत मुद्दा फेरि नेपालको परराष्ट्र नीतिको केन्द्रमा आएको देखिएको छ ।
चीनलाई नेपालले के सन्देश दियो ?
गत महिना चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दै नेपाल ‘एक चीन नीति’प्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्याए ।
उनले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने नीति यथावत् रहेको स्पष्ट पारे ।
खनालका अनुसार चीनको सबैभन्दा ठूलो सुरक्षा चासो तिब्बतसँग सम्बन्धित गतिविधि हो र नेपाल त्यसप्रति संवेदनशील छ ।
उनले भने, ‘नेपाल सरकार चीनको सुरक्षा चासोलाई सम्बोधन गर्न तयार छ । हामी नेपालको भूमि कुनै पनि चीनविरोधी गतिविधिका लागि प्रयोग हुन दिने छैनौँ भन्नेमा स्पष्ट छौँ ।’
चीनले पनि नेपालले ताइवान र तिब्बतका विषयमा आफ्नो अडानलाई निरन्तरता दिएको भन्दै प्रशंसा गरेको छ ।
यद्यपि चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई नजिकको छिमेकी टाढाको आफन्तभन्दा महत्त्वपूर्ण भन्दै व्यक्त गरेको टिप्पणीलाई कतिपय कूटनीतिक विश्लेषकले नेपालप्रति रहेको चिनियाँ संशयको संकेतका रूपमा अर्थ्याएका छन् ।
अमेरिकी चेतावनी किन महत्त्वपूर्ण ?
चीनसँग सम्बन्ध सुधारको प्रयास भइरहेका बेला अमेरिकाले भने तिब्बती समुदायको मानवअधिकारलाई लिएर नेपालप्रति दबाब बढाइरहेको छ ।
यसै वर्ष अमेरिकी कङ्ग्रेसले पारित गरेको कानुनअनुसार दक्षिण एशियाली देशका कुनै सरकारी अधिकारी तिब्बती समुदायमाथि गम्भीर मानवअधिकार उल्लङ्घनमा संलग्न रहेको विश्वसनीय आधार भेटिएमा उनीहरूमाथि अमेरिका प्रवेश प्रतिबन्ध र सम्पत्ति रोक्का जस्ता कारबाही गर्न सकिने व्यवस्था गरिएको छ ।
यसअघि पनि अमेरिकी सांसदहरूले नेपाल सरकारलाई तिब्बती शरणार्थीको कानुनी हैसियत, दर्ता तथा पुनर्वासका विषय समाधान गर्न आग्रह गर्दै आएका छन् ।
अमेरिकाले नेपाल र भारतमा रहेका तिब्बती समुदायको शिक्षा, संस्कृति र सामाजिक विकासका कार्यक्रमलाई आर्थिक सहयोगसमेत उपलब्ध गराउँदै आएको छ ।
नेपालमा तिब्बती शरणार्थीको अवस्था
सन् १९५९ मा दलाई लामा भारत निर्वासनमा गएपछि ठूलो सङ्ख्यामा तिब्बतीहरू नेपाल आएका थिए ।
सन् १९८९ सम्म आएका तिब्बतीलाई नेपालले शरणार्थीको मान्यता दिएको भए पनि त्यसपछि आएका व्यक्तिलाई औपचारिक शरणार्थीको हैसियत दिइएको छैन ।
सरकारी अनुमानअनुसार अहिले नेपालमा करिब २० हजार तिब्बती बसोबास गरिरहेका छन् ।
उनीहरूमध्ये ठूलो सङ्ख्या अझै पनि स्थायी कानुनी कागजातविहीन अवस्थामा रहेको विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले उल्लेख गरेका छन् ।
देशभर २० वटा तिब्बती शरणार्थी शिविर सञ्चालनमा छन् भने उनीहरूको शिक्षा, धार्मिक गतिविधि र आवतजावतसम्बन्धी विषय समय–समयमा नेपाल–चीन सम्बन्धसँग जोडिने गरेका छन् ।
दलाई लामाको जन्मदिनमा सुरक्षा सतर्कता
दलाई लामाको ९१औँ जन्मदिनका अवसरमा काठमाडौंको स्वयम्भूस्थित नाम्ग्याल विद्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा युरोपेली सङ्घ, अमेरिका लगायत विभिन्न देशका कूटनीतिज्ञहरूको उपस्थिति थियो ।
कार्यक्रमका क्रममा चिनियाँ दूतावास वरपरका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
सम्भावित प्रदर्शन रोक्न प्रशासन सतर्क देखिए पनि यसबारे गृह मन्त्रालय वा काठमाडौं प्रशासनले औपचारिक प्रतिक्रिया दिएको छैन ।
सुरक्षा निकायका अधिकारीहरूले भने नेपालबाट चीनविरुद्ध कुनै गतिविधि हुन नदिन आवश्यक निगरानी बढाइएको बताएका छन् ।
नेपाल किन अप्ठ्यारोमा ?
नेपालको उत्तरी सीमामा तिब्बत रहेकाले यो विषय केवल मानवअधिकार वा शरणार्थीको मात्र प्रश्न होइन, प्रत्यक्ष रूपमा क्षेत्रीय सुरक्षा र भूराजनीतिक प्रतिस्पर्धासँग जोडिएको विषय हो ।
चीनले तिब्बतसँग सम्बन्धित गतिविधिलाई आफ्नो राष्ट्रिय सुरक्षासँग जोडेर हेर्छ भने अमेरिका धार्मिक स्वतन्त्रता र मानवअधिकारको दृष्टिकोणबाट विषयलाई उठाउँदै आएको छ ।
यसैले नेपालले एकातिर चीनलाई आफ्नो भूमि चीनविरोधी गतिविधिका लागि प्रयोग हुन नदिने विश्वास दिलाउनुपर्ने हुन्छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी दायित्व पनि पालना गर्नुपर्ने चुनौती सामना गरिरहेको छ ।
विज्ञको सुझाव– ‘घरभित्रको व्यवस्थापन बलियो हुनुपर्छ’
पूर्वकूटनीतिज्ञ दिनेश भट्टराईका अनुसार तिब्बत नेपालको सबैभन्दा संवेदनशील परराष्ट्र नीति सम्बन्धी विषयमध्ये एक हो ।
उनका अनुसार भारत र चीनबीचको रणनीतिक प्रतिस्पर्धाको प्रभाव नेपालमा देखिने भएकाले सरकारले स्पष्ट ‘रेडलाइन’ निर्धारण गरेर विदेशी गतिविधिको प्रभावकारी अनुगमन गर्नुपर्छ ।
उनले भने, ‘यदि कुनै गतिविधिले नेपालको राष्ट्रिय हित वा सुरक्षा जोखिममा पार्छ भने राज्यले स्पष्ट रूपमा हस्तक्षेप गर्न सक्नुपर्छ । आफ्नो घर व्यवस्थित राख्न सके मात्र नेपालले सन्तुलित कूटनीति सञ्चालन गर्न सक्छ ।’
सन्तुलनमै नेपालको चुनौती
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार प्रत्येक देशको आफ्नै राष्ट्रिय स्वार्थ हुन्छ र नेपालले पनि छिमेकी तथा मित्रराष्ट्रका चासो सुन्ने र आफ्ना चासो स्पष्ट रूपमा राख्ने नीति अवलम्बन गरिरहेको छ ।
हालको अवस्थाले नेपाललाई फेरि एकपटक कठिन कूटनीतिक सन्तुलनको परीक्षामा उभ्याएको छ ।
चीनको सुरक्षा संवेदनशीलता, अमेरिकाको मानवअधिकार केन्द्रित दबाब र नेपालभित्र रहेका तिब्बती शरणार्थीको अवस्थाबीच सन्तुलन कायम गर्नु बालेन नेतृत्वको सरकारका लागि आगामी दिनमा सबैभन्दा चुनौतीपूर्ण परराष्ट्र नीतिगत विषय बन्ने देखिएको छ । –बीबीसी






















