काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जालमार्फत अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोप लागेका रोशन पोखरेल पुर्पक्षका लागि जेल चलान भएका छन् ।
पाँचथर फाल्गुनन्द गाउँपालिका–७ का पोखरेललाई जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो ।
पक्राउपछि व्यापक विरोध भएपछि उनलाई चैत २९ गते परिवारको जिम्मा लगाइएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेपछि अदालतले प्रधानमन्त्री शाह र उनको परिवारको मान–प्रतिष्ठामा आँच पुग्ने गरी युट्युब, फेसबुक, इन्स्टाग्राम र टिकटकमार्फत अपमानजनक सामग्री प्रसारण गरेको अभियोगमा पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।






















